ललितपुर/ १० साउन, राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठानले रोजगारदातासंग मिलेर कार्यस्थलमा आधारित सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ।
प्रतिष्ठानले शुक्रबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुले राखेको जिज्ञासाको सम्बोधन गर्दै राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक रमेश बखतीले नेपाल उद्योग परिसंघ (सिएनआई), होटल एशोशियशन, नेपाल तयारी पोसाक उद्यमी महासंघलगायतका संस्थाहरुसंग सहकार्य गरेर राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा माग भइआएका विषयबस्तुमा आधारित रहेर कार्यस्थलमा आधारित छोटो अवधिको तालिम सञ्चालन गरिने जानकारी गराउनुभयो।
“तालिममा सरकारको धेरै रकम खर्च भएको छ, केवल तालिमका लागि मात्रै तालिम सञ्चालन गर्दैनौं, तालिमको आवश्यकताका लागि दरखास्त आवेदन दिन टुँडिखेलमा स्टल राख्दा पनि हुन्छ, तर प्रभावकारी सीप विकासका लागि तालिम चाहिँ कार्यस्थलमा नै हुनुपर्छ।” कार्यकारी निर्देशक बखतीले भन्नुभयो।
कार्यकारी निर्देशक बखतीले आन्तरिक रोजगार दशकलाई प्राथमिकता राखेर तालिम सञ्चालन गर्छौं भन्ने बताउनुभयो।
“सामी परियोजनासंग सहकार्य गरेर बैदेशिक रोजगारसंग सम्बन्धित तालिम सञ्चालन गर्छौं, नागरिकलाई सहज र सरल रुपमा तालिम दिन्छौं, सिटिइभिटीसंग सहकार्य गरेर पनि काम गरिरहेका छौँ, रोजगारदातासंग मिलेर कार्यस्थलमा आधारित सीपमूलक तालिममा तालिम अवधिभर न्युनतम पारिश्रमिक नेपाल सरकारले उपलब्ध गराउने छ।” उहाँले भन्नुभयो।
निर्देशक विन्दा आचार्यले प्रतिष्ठानले सामाजिक समवेशिता र पहुँच विस्तारलाई ध्यानमा राख्दै महिला, दलित, जनजाति अपाङ्गता भएका व्यक्तिहरु, विपन्न वर्ग र पछाडि परेको समुदाय लक्षित तालिम सञ्चालन गर्ने बताउनुभयो।
उहाँले तालिम सम्बन्धी एकीकृत तथ्यांक तयार गर्ने गरि काम गरिरहेको जानकारी गराउनुभयो। उहाँले प्रतिष्ठानको नियमावली मन्त्रीपरिषदमा लैजाने प्रक्रियामा रहेको जानकारी गराउनुभयो।
प्रतिष्ठानले आर्थिक वर्ष २०८१/८२ मा स्वीस विकास नियोगको सहयोगमा प्रतिष्ठानको ५ वर्षे रणनीतिक योजना तयार गर्ने, प्रतिष्ठानको नियमावली समितिवाट स्वीकृति भई मन्त्रालयमा पेश गर्ने, कार्यस्थलमा आधारित तालिम संचालन कार्यविधि समितिवाट स्वीकृत गरी मन्त्रालयमा पेश गर्ने, आन्तरिक रोजगारी व्यवस्थापनका लागि सीप विकास गर्न ९ वटा रोजगारदाता संघ/ महासंघहरुसंग समझदारी गर्ने, सीपको अन्तर्राष्ट्रिय प्रमाणीकरणका लागि ४ वटा संस्थासंग सम्झौता गरी सहकार्य गर्ने, रोजगारदाता संघमहासंघको नेतृत्वमा श्रमबजारको माग अनुरुप १९ वटा सीपमूलक तालिमको पाठ्यक्रम निर्माण गरी स्वीकृत गर्ने लगायतका कामहरु सम्पन गरेको जानकारी गराइएको छ।
पत्रकार सम्मेलनमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान नेपालको सीप विकास प्रणालीको नेतृत्वदायी संस्था हो, जसले दीर्घकालीन मानव पूँजी निर्माण, सामाजिक समावेशिता, रोजगार प्रवर्द्धन, र समृद्ध नेपालको आधार तयार गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको जानकारी गराइएको छ।
प्रतिष्ठानले सीप र रोजगारी क्षेत्रमा कार्यरत कर्मचारी, प्रशिक्षक तथा जनशक्ति ७७ जनालाई सामान्य, उद्यमशिलता, अनुगमन तथा मूल्याङ्कन विषयमा प्रशिक्षक प्रशिक्षण प्रदान गर्ने, ५ हजार तीन सय जनालाई विभिन्न विषयमा सीपमूलक तथा सीप अभिवृद्धि तालिम प्रदान गर्ने, तालिम सम्पन्न गरेका ३ सय ४९ जनाको सीप परिक्षण गर्ने, सीपमूलक तालिम लिएका १ सय ४८ जनालाई उद्यमशीलता तालिम प्रदान गर्ने र दक्षिण कोरिया, इजराइल र बेलायतमा जाने ८ हजार ३ सय २२ जनालाई पूर्व प्रस्थान अभिमुखिकरण गर्नेलगायतका कामहरु सम्पन्न गरेको निर्देशक आचार्यले जानकारी गराउनुभयो।
