अाम सराेकार प्रतिनिधि
ललितपुर/२१ जेठ,साताको पहिलो दिन आइतबार सेयर कारोबारमा गिरावट आएको छ । नेप्से परिसूचक दोहोरो अंकले घटेर  १६ अंकभन्दा तल झरेको छ । नेप्से १०.५० अंकको गिरावटसँगै १५९३.८१ अंकमा कायम भएको छ । कारोबारमा आएका अन्य बाहेक बाँकी सबै समूहमा आएको गिरावटले बजार ओरालो लागेको हो ।

नेप्से दोहोरो अंकले बजार झर्दा बजारपूँजीकरण १८ खर्ब ६४ अर्बमा झरेको छ । परिसूचक घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । दिनभरिमा जम्मा ५५ करोडको कारोबार भएको छ । १४१ वटा कम्पनीको नौ लाख ५० हजार चार सय ७३ कित्ता सेयर छ हजार नौ सय १४ पटक खरिदविक्री हुँदा ५५ करोड ६७ लाख ३६ हजार एक सय ६५ रुपैयाँ पुँजी परिचालन भएको हो ।

अाइतबार बीमा समुहको परिसुचक सबैभन्दा बढी ९५ अंकले घटेको छ । त्यस्तै जलविद्युत समुहको परिसुचक ३०.६९, होटल १५.५५, उत्पादन १३.१ र वाणिज्य बैंक समुहको परिसुचक ९.१९ अंकले घटेको छ ।

त्यस्तै विकास बैंकको ७.६९,फाइनान्स समुह १ अंकले ओरालो लागेको छ । यता अन्य समुहको परिसुचक भने ० दशमलव ८६ अंकले उकालो लागेको छ ।

कुनै पनि कम्पनीको आइतबार उत्साहजनक कारोबार भएन । धेरै कारोबार गर्ने कम्पनीहरुको अग्रस्थानमा रहेको स्टान्डर्ड चार्टर्ड बैंकको चार करोड १५ लाख रुपैयाँको कारोबार हुँदा कुमारी बैंक, गुराँस लाइफ इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स र नेपाल इन्भेष्टमेन्ट बैंकको दुई करोडमाथिको कारोबार भएको छ भने युनाइटेड मोदी हाइड्रोको एक करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, सिद्धार्थ बैंक, प्रभु बैंक लगायतको पनि एक करोडमाथिको कारोबार भएको छ ।

आइतबार जम्म १४ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । आर एसडीसी लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ९.९७ प्रतिशतका दरले कमाएका छन् भने एभरेष्ट बैंकका सेयरधनीले सबैभन्दा कम ०.०५९ प्रतिशतका दरले कमाएका छन् । सबैभन्दा धेरै कारोबार भएको स्टान्डर्ड चार्टर्ड बैंकका सेयरधनीले ०.१३७ प्रतिशतका दरले कमाएका छन् । युनाइटेड मोदी हाइड्रोका सेयरधनीले ६.५५ प्रतिशतका दरले कमाएका छन् भने सिनर्जी फाइनान्स, सिर्जना फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, लक्ष्मी बैंक, नेपाल बंगलादेश बैंक, कैलाश विकास बैंक, प्रिमियर इन्स्योरेन्स, रिडी हाइड्रो लगायतका सेयरधनीले पनि कमाएका छन् ।