ललितपुर/२० चैत, थाइल्याण्डका दाताहरुले ललितपुर महालक्ष्मी नगरपालिकास्थित फुलबारी गाउँका २१ भूकम्प पीडितहरुलाई घर हस्तान्तरण गरेका छन् । यही २०७३ चैत १६ गते थाइ राजदूत भाकवत तानस्कुलको उपस्थितिमा उक्त घरहरु हस्तान्तरण गरिएको हो । करिब ६ महिनाको अवधिमा तयार भएका २१ वटा घरहरु भूकम्प पीडितहरुलाई हस्तान्तरण गरिएको हो । नाइन सस्टेनेबिलिटी फाउण्डेसनकी सुजिन्ताना छान्याथिउसाकुलको संयोजकत्वमा घर निर्माणका लागि सहयोग संकलन गरिएको थियो । घर निर्माणका लागि सिल्पाकोर्न विश्वविद्यालयका डिन अमृत चासुवानले चित्र तथा मूर्तिकला प्रदर्शनी एवम् लिलाम गरी रकम संकलन गरेका थिए । इनोटेक नेपाल प्रा.लि.का काइश्वर जोशीको संयोजकत्वमा यो परियोजना सम्पन्न भएको हो । न्यूनतम् लागतमा निर्मित यी भूकम्प प्रतिरोधी घरहरुको डिजाइन भने ज्ञानेन्द्र स्थापितको नेतृत्वमा हेभीटेक सेन्टर एआईटी सोलुसन एशियन इन्स्टिच्यूट अफ टेक्नोलोजीले गरेको हो । थाईलाण्डबाट भित्रिएको प्रविधि अनुसार स्थानीय स्रोत साधनको उपयोग गरी ब्लक निर्माण गरी भूकम्प प्रतिरोधी घर बनाइएको छ । कार्यक्रममा जस्ताले छाएको एकतले दुई कोठे घरको साँचो र प्रमाणपत्र थाइल्याण्डका दाताहरुकै हातबाट भूकम्प पीडितहरुलाई हस्तान्तरण गरिएको हो ।
भूकम्प गएको २ वर्ष वितिसक्दा पछि घर निर्माणका लागि सरकारले दिने भनेको राहत रकम पीडितलाई दिन नसक्दा अधिकाँश पीडितहरु टहरामूनि बस्न बाध्य छन् ।