गायक विदुर घिमिरे

माधवप्रसाद घिमिरे
ललितपुर/१३ चैत्र, कलाकारिता क्षेत्रमा परिचित हुँदै गरेको एक व्यक्तिको नाम हो विदुर घिमिरे । ललितपुरको चन्दनपुरमा जन्मेर सानैदेखि गायन क्षेत्रमा क्रियाशील रहेका घिमिरे कलाकारितामा लागेर छोटैसमयमा चर्चा बटुल्न सफल भएका छन् । विदुर घिमिरे विद्यालयमा अध्ययन गर्दाको समयमा समेत नाटक मञ्चनमा क्रियाशील थिए । २०७० असोजमा पहिलो एल्बम् ‘दुखाई’ सार्वजनिक गरेका विदुरले अहिलेसम्म करिब ४ दर्जनको हाराहारीमा म्युजिक भिडियो सार्वजनिक गरिसकेका छन् । सानैछँदा गाडी दुर्घटनाका कारण पितृ वियोगको सामना गर्नु परेका विदुर आफ्नै आमाको प्रेरणाले गायन क्षेत्रमा प्रवेश गरेको वताउँछन् । गायन क्षेत्रमा करिब ५ वर्षदेखि क्रियाशील रहेका घिमिरे अहिले हास्य चलचित्र सुइरोको निर्माण अभियानमा रहेका छन् । उनले निर्देशन गर्ने यो टेलिचलचित्रको केही दिनअघि ललितपुरको झरुवाराशीमा शुभ मुहर्त सम्पन्न भएको छ । मिठाराम के.सी.को परिकल्पना, ज्ञानबहादुर खड्काको कथा÷पटकथामा आधारित टेलिचलचित्र सुइरोको निर्देशन गर्नेक्रममा रहेका विदुर घिमिरे अहिले राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान ललितपुर शाखाको सचिव समेत रहेका छन् ।
कलाकारिता क्षेत्रमा उदाउँदै गरेको एक कर्मठ युवा हुन् बिदुर घिमिरे । विदुरका रचनाहरुलाई गहिरिएर सुन्ने हो भने मानवीय हृदयलाई स्पर्ष गरेको भान हुन्छ । वर्तमानको वास्तविक यथार्थलाई कलाकारितामार्फत आमनागरिकहरुमा पस्कने क्षमताका धनी विदुर मेधावी व्यक्तित्व हुन् भन्ने कुरा प्रमाणित गरिरहनु पर्दैन । कलाकारितामा लाग्दाका दुखहरुलाई सम्झँदै घिमिरे भन्छन्, ‘कलाकारितामा क्षेत्रमा टिक्क र बिक्न धेरै कठिन छ ।’  उनका सृजना र लयले मानिसको मन र मुटुलाई स्पर्ष गर्न सफल भएको छ । कलाकारितामा लाग्दाका दिनहरुमा निकै कठिनाइ भोग्नु परेको वताउछन् घिमिरे ।
कलाकारिताले मानिसको भावनालाई छुने भएकोले गीत संगीतको क्षेत्रबाट समाजलाई रुपान्तरण गर्न सकिने वताउँछन् घिमिरे । गीत संगीतले चर्चा बटुल्नका लागि शब्दहरु दमदार हुनुपर्ने वताउँछन् विदुर । विदुरले गाएको गीत ‘हाँस्न सजिलो कहाँ छ र, जस्तो बाँच्न छ ……’ भन्ने गीतले पनि विदुरलाई धेरै चर्चामा ल्याएको हो । केही समय अगाडीमात्रै युवट्युवमा सार्वजनिक भएको ‘काठमाण्डौको धुलोले स्वास्थ्य नै विग्रियो …..’ भन्ने गीत पनि अहिले चर्चामा छ  । समाजमा देखिएका विकृति र मानिसहरुले भोग्नु परेका समस्याहरुलाई गीतमा उतारेर लयबद्ध गरेर पस्कने क्षमतावान् व्यक्तित्वका रुपमा उदाएका विदुर नेपाली हुनुमा गर्व गर्छन् ।