माधवप्रसाद घिमिरे
ललितपुर/ १६ माघ, राजधानीसँगै जोडिएको जिल्ला भएर पनि भौगोलिक विकटता र विकासका लागि राजनीतिक दलहरुको आवश्यक पहल नभएका कारण पछाडि पारिएको दक्षिण ललितपुर विस्तारै अर्गानिक चिया खेतीको क्षेत्रले परिचित हुने क्रममा छ । ललितपुरको लगनखेलबाट करिव ४५ किलोमिटरको दुरीमा रहेको चिया खेतीलाई हेर्दा इलामलाई बिर्साउने खालको भइसकेको छ ।
सन् १९२० मा तत्कालीन बडाहाकिम गजराज सिंहले नेपालको पूर्वीभाग इलाममा चिया खेतीको सुरुवात गरेको पाइन्छ । त्यसपछिका दिनहरुमा पूर्वीनेपालको ताप्लेजुङ, पाँचथर, झापा, तेह्रथुम, धनकुटा हुँदै ८७ वर्ष पछि ललितपुरमा पनि अर्गानिक चियाको खेतीको सुरुवात भएको बताउछन् चिया उत्पादक सहकारी संघ ललितपुरका अध्यक्ष ऋषिराम घिमिरे । २०४९ र/ २०५४ सालको स्थानीय निर्वाचनमा विजयी भई १० वर्षसम्म चन्दनपुर गाविसको नेतृत्व सम्हालेका ऋषिराम घिमिरे एक सफल व्यवसायी पनि हुन् । उनकै अगुवाइ र सक्रियतामा २०६४ साल असारदेखि दक्षिण ललितपुरमा अर्गानिक चिया खेतीका लागि आवश्यक पहल गरिँदै आएको बताउछन् चन्दनपुरका स्थानीय व्यक्तित्व हेमनारायण बञ्जारा ।
वि.सं. २०६४ साल भाद्र ३ गते एभरेष्ट अर्गानिक चिया विकास प्रा.लि. कम्पनी दर्ता गरी चियाको नर्सरीबाट सुरु गरिएको अभियानलाई चिया उत्पादक सहकारीको माध्यमबाट दक्षिण ललितपुरको ९ वटा गाविसहरु कालेश्वर, चन्दनपुर, गोटिखेल, मानिखेल, बुखेल, इकुडोल, शंखु, चौघरे र घुसेलसम्म विस्तार गरिएको छ । परम्परागत खेतीबाट आधुनिक खेती प्रणालीतर्फ लम्कँदैछन् यस क्षेत्रका बासीन्दाहरु । ‘खाए मकै, नखाए भोकै’ भन्ने यहाँको प्रचलन अब अन्त्य हुदै छ । अब दक्षिण ललितपुरबाट । दुख गरेर पनि वर्षभरि खान पुग्ने मकै उत्पादन हुन नसकेर आजित भएका कृषकहरु अहिले चिया खेतीमार्फत भरपुर आयआर्जन गरेर जीवनस्तर उकास्न पाएकोमा खुसी देखिन्छन् । चिया खेतीका कारण यस क्षेत्रको पर्यटकीय विकास र विस्तारमा समेत महत्वपूर्ण योगदान पुग्ने देखिन्छ । चिया खेतीभित्र पुगेर अवलोकन गर्दा देखिने मनमोहक दृष्यले नलोभिने सायद विरलै होलान् । चिसो ठाउँ, भिरालो जमिन भएकाले पनि यो क्षेत्र चियाका लागि अति उत्तम देखिएको हो । युवाहरु विदेशिएका कारण काम गर्न नसकेर चिया खेतीको सुरुवात गरेको वताउने घुसेलका रामचन्द्र तिमल्सिना अहिले चिया खेतीबाट भएको प्रगतिले मख्ख देखिन्छन् । काठमाडौँबाट नजिकै रहेको ललितपुरको दक्षिणी भेगका बाँकी गाविसहरु भट्टेडाँडा, दल्चोकी, देविचौर, नल्लु र भारदेउमा पनि चिया खेतीको विकास गर्न सकेमा इलामको चिया वगानलाई बिर्साउने अवस्था सिर्जना गर्न सकिने बताउँछन् चिया उत्पादक सहकारी संघ ललितपुरका अध्यक्ष ऋषिराम घिमिरे । यस क्षेत्रको चिया खेतीको विकास र प्रवद्र्धनका कारण टि टुरिजम, होम स्टे, रिसोर्ट, फिल्म सुटिङ स्थल र पिकनिक स्पटको व्यावसायिक विस्तारको सम्भावना समेत रहेको वताउँछन् स्थानीय उपेन्द्र कुमार घिमिरे ।
स्थानीय कृषकहरुकै पहलमा भएको यहाँको अर्गानिक चियाखेतीका लागि सरकारी तवरबाट मुस्किलले सहकारीलाई दिने २/४ लाखको अनुदानबाहेक कुनै अन्य सुविधा छैन । यहाँका किसानले उत्पादन गरेको चिया बजारसम्म पुर्याउनका लागि सडकको सहज व्यवस्थासमेत छैन । अहिले यस क्षेत्रका सबै सहकारीहरुले चिया उत्पादन गरिरहेका छन् । बाटोको समस्याका कारण उत्पादित चियालाई प्रशोधन केन्द्रसम्म पुर्याउन पनि समस्या रहेको वताउँछन् चिया उत्पादक किसानहरु । सरकारी तवरबाट यस क्षेत्रमा गरिएको अर्गानिक चिया खेतीलाई प्रोत्साहन गर्न विरुवादेखि लिएर उत्पादित चिया ढुवानी गर्न समेत अनुदान र सहुलियत प्रदान गर्ने हो भने यहाँको चिया खेतीको विकास र किसानहरुको जीवनस्तर उकास्नमा महत्वपूर्ण योगदान पुग्ने देखिन्छ । क्षेत्रमा हालसम्म भएका कच्ची सडकहरुलाई स्तरोन्नति गरी कालोपत्रे गरिदिने हो भने पनि यहाँको ६० प्रतिशतभन्दा बढी समस्या हल हुने देखिन्छ ।