काठमाडौं/१ कार्तिक, नेपाली चित्रकला तथा मूर्तिकलालाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म पुर्याउने उद्देश्यले एनआरएनए चित्रकला प्रदर्शनी भइरहेको छ। ठमेलस्थित क्यानभास आर्ट ग्यालरीमा पहिलोपटक एनआरएनए कला प्रदर्शनी भएको हो। असोज २७ गते सोमबारबाट सुरु भएको प्रदर्शनी कात्तिक ३ गते सम्पन्न हुनेछ।

क्यानभास आर्ट ग्यालरीले असोज २७ गते सोमबारबाट नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा ३९ जना चित्रकार र मूर्तिकारका कलालाई प्रदर्शनीमा राखेको थियो।

क्यानभास आर्ट ग्यालरीका सञ्चालन तथा कला प्रदर्शनीका आयोजक लालकाजी लामाले उक्त प्रदर्शनी पहिलोपटक सञ्चालनमा ल्याएको हुनाले प्रदर्शनीको शीर्षक नै ‘फस्ट एनआरएनए कला प्रदर्शनी’ राखेको बताए। यस वर्षदेखि सुरु गरेको प्रदर्शनी हरेक वर्ष सञ्चालन गर्ने योजना रहेको उनले जानकारी दिए।

प्रदर्शनीमा मूर्त तथा अमूर्त रूपका विभिन्न भाव बोकेका साथै नेपाली संस्कार र संस्कृति र प्राकतिक दृश्यलाई झल्काउने चित्र समावेश छन्। १२ जना मूर्तिकारका १५ थान मूर्ति र २७ जना चित्रकारका ४४ वटा चित्रकला प्रदर्शनीमा राखिएको छ।
मूर्तिकलातर्फ मूर्ति प्रमुखका रूपमा समेत रहेका चित्रकार लालकाजी लामाको ‘प्रकृति’ शीर्षकको मूर्तिकला निकै कलात्मक देखिन्छ। मूर्तिमा उनले नारीलाई प्रकृतिसँग तुलना गरेका छन्। नारी स्वतन्त्रता पक्षको भाव व्यक्त गर्दै बनाएको उनको मूर्तिले नारीलाई प्रकृतिजस्तै स्वतन्त्रता दिनुपर्छ भन्ने भाव बोकेको छ।

मूर्तिसँगै उनका दुईवटा चित्रकला पनि प्रदर्शनीमा राखिएका छन्। ‘मेरो देश’ शीर्षकको चित्रले नेपालको मठमन्दिर, प्रकृति र ग्रामीण समुदायका घरको दृश्यलाई चित्रित गर्दै एउटा स्वर्गजस्तो देशको परिकल्पना गरिएको छ। त्यससँगै आफ्नो कलामार्फत २०७२ सालको भूकम्पपछिको दृश्यलाई समेटी त्यस्ता खालका प्राकृतिक प्रकोपबाट सचेत हुनपर्ने सन्देश प्रवाह गर्न खोजेको चित्रकार लामा बताउँछन्।

त्यसैगरी, प्रायःजसो वाटर कलरको प्रयोग गर्न रुचाउने चित्रकार एनबी गुरुङका दुईवटा चित्र प्रदर्शनीमा समेटिएको छ। ‘कम्पोजिसन’ शीर्षक राखेर वाटर कलरको प्रयोग गरी बनाइएको अमूर्त खालको उनको चित्रले मानिसका विभिन्न खाले भावलाई व्यक्त गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here