
ललितपुर/ २३ भदौ, नेपाली कांग्रेस ललितपुरले जिल्लाका ६ वटै प्रदेश निर्वाचन क्षेत्रमा सभापतिहरुको टुङ्गो लगाएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७६ श्रावण २६ गरेको बैठकले स्थानीय तहको संगठनको अन्तरिम संरचना तुरुन्त गठन गर्न सबै जिल्ला कार्यसमितिलाई निर्देशन दिएको थियो। केन्द्रीय कार्य समितिबाट प्राप्त मापदण्डसहितको निर्देशन अनुसार कांग्रेसको जिल्ला कार्यसमितिले ६ वटै प्रदेश निर्वाचन क्षेत्रमा सभापतिहरुको टुङ्गो लगाएको हो ।
क्षेत्रगत रुपमा सबै नेता कार्यकर्ताको सहमतिमा ६ वटै प्रदेश निर्वाचन क्षेत्रीय सभापतिहरुको टुङ्गो लगाइएको कांग्रेसका कार्यवाहक सभापति प्रकाश नन्दन जोशीले जानकारी दिए। नेपालको संविधान बमोजिम स्थानीय तह तथा संसदीय निर्वाचन क्षेत्र निर्धारण भएर पश्चात पनि ललितपुरमा तिनवटै निर्वाचन क्षेत्र यथावत् रहेको छ । तसर्थ क्षेत्रीय सभापतिहरुमा १३औं महाधिवेशनमा निर्वाचित भएका सभापति नै प्रतिनिधिसभा क्षेत्रीय निर्वाचन सभापतिहरु १ मा राजन प्रसाद घिमिरे, २ मा महेश खड्का रहेका छन् भने क्षेत्र नं. ३ मा कार्यवाहक सभापतिको जिम्मेवारी वेली डंगोललाई दिइएको छ । तेह्रौ महाधिवेशनबाट निर्वाचित सभापति गजेन्द्र महर्जन गोदावरी नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएपछि क्षेत्रीय समितिले डंगोललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको थियो ।
प्रतिनिधिसभा क्षेत्र नं. १ को प्रदेश क्षेत्र नं. १ क्षेत्रिय सभापतिमा सुन्दर मान थिङ र प्रदेश क्षेत्र नं. २ क्षेत्रिय सभापतिमा रामकृष्ण लामा (इन्द्र) चयन भएका छन् ।
त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं.२ को प्रदेश क्षेत्र नं. १ क्षेत्रिय सभापतिमा यज्ञ नेमकुल र प्रदेश क्षेत्र नं. २ क्षेत्रिय सभापतिमा चन्द्र मान बज्राचार्य चयन भएका छन् ।
त्यसैगरी प्रतिनिधिसभा क्षेत्र नं.३ को प्रदेश क्षेत्र नं. १ क्षेत्रिय सभापतिमा जितेन्द्र महर्जन र प्रदेश क्षेत्र नं. २ क्षेत्रिय सभापतिमा विश्व राज तुलाधर चयन भएका छन् ।
केन्द्रीय निर्वाचन समितिले तोकेका जिल्ला निर्वाचन प्रतिनिधि गणेश सिलवाल उपस्थितिमा भएको भेलाले आइतवार छ वटै प्रदेश निर्वाचन क्षेत्रीय सभापति चयन गरेको हो