ललितपुर/ २० भदौ, एटीएमबाट पैसा चोरी भएपछि नेपाल राष्ट्र बैंकले एटीएमबाट पैसा निकाल्ने सीमा घट्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले अब एटीएम मेसिनबाट प्रतिदिन ६० हजार रुपैयाँभन्दा बढी निकाल्न नपाइने नियम लागू गरेको छ । राष्ट्र बैंकले बिहीबार सबै बैंकलाई परिपत्र जारी गर्दै नयाँ सीमा तोकिदिएको हो । यसअघि एटीएमबाट प्रतिदिन १ लाख रुपैयाँ निकाल्न पाइने ब्यबस्था थियो ।
नक्कली कार्ड प्रयोग गरी एटीएमबाट रकम चोरी भएपछि सुरक्षाको कारण देखाउँदै राष्ट्र बैंकले प्रतिदिन रकम निकाल्न मिल्ने सीमा घटाएको हो। बैंक तथा वित्तीय संस्थाले नगद व्यवस्थापन, भौगोलिक अवस्था, सुरक्षा व्यवस्था र विशेष परिस्थिति समेतलाई ध्यानमा राखेर उल्लिखित सीमा घटाउन सकिने छुट राष्ट्र बैंकले दिएको छ।

नयाँ व्यवस्थाअनुसार एटीएमबाट पैसा निकाल्दा अब एक पटक २० हजार रुपैयाँ मात्र निकाल्न सकिनेछ। यसअघि यस्तो सीमा प्रतिपटक २५ हजार रुपैयाँ थियो।

यस्तै, कुनै पनि डिपार्टमेन्टल स्टोर, मार्ट, होटल, पसल लगायत मर्चेन्टबाट पीओएस मसिनमार्फत कारोबार गर्दा ग्राहकसँग कुनै पनि प्रकारको अतिरिक्त शुल्क लिन नपाइने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ।

कुनै मर्चेन्टले कारोबार रकम बाहेक अतिरिक्त शुल्क लिएमा कारोबारको बिल र भुक्तानी रसिदसहित कार्ड जारी गर्ने संस्थामा सम्पर्क राख्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here