ललितपुर/१४ भदौ, शनिबार बिहान एकनासले झरी परिरहेको थियो । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन, सशस्त्र प्रहरी, सेना, बाग्मती सफाई अभियानका अभियन्ताहरु कुपण्डोलस्थित बाग्मती पुलमुनि नदी किनारमा फँयाकिएका फोहोर टिपेर थुप्रो लगाउँदै थिए । छरिएका फोहोरलाई एक एक गर्दै टिप्दै गरेका नगरप्रमुख अन्य दिनको भन्दा फरक भूमिकामा थिए । उनको साथमा ललितपुर महानगरपालिका वडाअध्यक्षहरु पनि थिए ।

बाग्मती सफाई अभियानको तीन सय २९ हप्ता पुरा भएको अवसरमा बाग्मती सफाई अभियानका अभियन्ताहरुले उक्त कार्यक्रम आयोजना गरेका हुन् । थिए । झम्झ पानीमा छाता ओढेर सफाई अभियानमा जुटेका नगरप्रमुखले बाग्मती सफा बनाउन महानगरले सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘बाग्मतीको संरक्षरणसँग मान्छेको जीवन जोडिएको छ, यसको सफाई र संरक्षणका लागि यहाँ मिसाउनु हुदैन । ’ फोहोर संकलनपछि जलयात्राको कार्यक्रम थियो । जलयात्रा सुरु गर्नुअघि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको मुख्यमुख्य नदी र मानसरोवरको जल बाग्मतीमा मिसाइएको थियो ।
अन्यत्र धेरै पटक र्याफ्टिङ गरेपनि बाग्मतीमा नगरप्रमुख महर्जनको यो पहिलो पटक हो । उनले भने, ‘बाग्मतीलाई सफा बनाएर सधैं यसरी र्याफ्टिङको व्यवस्था गर्न सके आन्तरिक र बाह्य पर्यटक भित्रियाउन सकिन्छ । ’तत्काल यो संभव नभएपछि गुरुयोजना बनाएर काम गरे यो संभव उनले देखेका छन् । जलयात्रामा सहभागि भइरहँदा बाल्यकालमा आफूले देखेको बाग्मती र अहिलेको बाग्मतीलाई धेरै पटक तुलना गर्न भ्याए । ६२ वर्षीया नगरप्रमुखले भने, ‘ अव्यवस्थित सहरीकरणले यस्तो भएको हो, यसलाई राम्रो बनाउन संकल्प सहित सहकार्य गरेर अघि बढ्नुपर्छ । ’
र्याफ्टिङ बोट चढेर कुपण्डोलदेखि चोभारको सुन्दरीघाटसम्म नदी महोत्सव जलयात्रामा सहभागि भएका महर्जनले बोटबाट ओर्लने बित्तिकै भने,‘निकै रमाइलो हुँदो रहेछ , अलि अलि थकाई पनि लाग्दो रहेछ । ’

आयोजकका अनुसार जल यात्राको यो एघारौंपटक हो । सफाई अभियानमा अधिकार सम्पन्न बागमती समिति, मुक्तिनाथ विकास बैक, नेपाल सिर्जनशील समाज लगायतका संघसंस्थाको सहभागिता थियो । ११ वटा बोटमा आसी जना जलयात्रामा सहभागी भएका थिए ।

किशोरसिंह शाहीले जलयात्रा आयोजना गर्नुको मुख्य उद्देश्य प्रतिकात्मक भएको बताए । उनले भने, ‘ बाग्मतीमा सधै यसैगरी जलयात्रा संचालन गर्न सकिन्छ, त्यसका लागि बाग्मतीलाई सबै मिलेर सफा बनाउनुपर्छ भन्ने खोजिएको हो । ’ नदी संरक्षण समितिको अध्यक्ष मेघ आलेले र्याफ्टिङ बोटमा चढ्दा अपनाउनुपर्ने सावधानीका बारेमा बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here