Prime minister & CPN Chairman KP Sharma Oli

काठमाडौं २२ असार, प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रूपमा सरकार र पार्टी नेतृत्वको आलोचना नगर्न सांसदहरूलाई सचेत गराएका छन्।

सत्तासीन दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पार्टीको संसदीय दलको बैठकमा सांसदहरूलाई सार्वजनिक रूपमा सरकारको आलोचना नगर्न निर्देशन दिएका हुन् । शनिबार बसेको बैठकमा उनले नेता–कार्यकर्ताहरूले पार्टी र सरकारका निर्णय सिपाहीले झैं रक्षा गर्नुपर्ने बताए । पार्टी कार्यकर्ताहरूले पार्टीका नीति नियम र अनुशासनलाई ख्याल गर्नुपर्ने उनको भनाइ थियो ।

‘पार्टीको नेता कार्यकर्ताले पार्टीका नीति निर्णय पालना गर्नुपर्दछ, असहमति बाहिर होइन, संसदीय दल र पार्टीका बैठकमा राख्नुपर्दछ,’ उनले भने, ‘पार्टीभित्र कटूतापूर्ण सम्बन्ध हुनु आवश्यक छैन । हामी सबै एउटै डुंगामाा सवार छौं । यो कुरा सबैले मनन गर्नुपर्दछ ।’ पार्टी नेतृत्व र सरकारको नेतृत्वको आलोचना गर्दा उचित ठाउँमा मात्र गर्नुपर्ने उनले बताए । सरकारका कतिपय निर्णयको विरोधमा सत्तारूढ दलकै नेता–कार्यकर्ताले सार्वजनिक मञ्च तथा सामाजिक सञ्जालको प्रयोग गरिरहेको सन्दर्भमा उनले सत्तारूढ सांसदहरूलाई यस्तो निर्देशन दिएका हुन् ।

सांसदहरूले भने सरकारका काम कारबाही चित्तबुझ्दो नभएको बताएका थिए । बैठकमा बोल्ने अधिकांश सांसदले सरकारको काम कारबाहीको आलोचना गरेका हुन् । अहिलेको सरकार इतिहासमै बलियो भए पनि जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै उनीहरूले नेतृत्वको ध्यानाकर्षण गराए ।

बैठकमा सांसदहरूले सरकारलाई परम्परागत कार्यशैली परिवर्तन गर्नसमेत सुझाव दिएका छन् । कार्यशैली परिवर्तन नहुँदासम्म सरकार प्रभावकारी हुन नसकेको भन्दै उनीहरूले हचुवाको भरमा निर्णय गरेर फिर्ता लिनुपर्ने अवस्था आउनु लाजमर्दो भएको टिप्पणीसमेत गरे ।

बैठकमा सहभागी स्रोतका अनुसार भारतबाट आउने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने काम किन बन्द गरिएको सांसदहरूले प्रश्नसमेत गरेका थिए । भारतीय दबाबमै सरकारले निर्णय फिर्ता लिएको आशंकासहित उनीहरूले वास्तविकताबारे सरकारले जवाफ दिनुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here