
काठमाडौँ/९ असार, संघीय गणतन्त्र कायम भएसंगै स्थानीय निकायहरु स्थानीय सरकारका रुपमा परिणत भए । स्थानीय तहमा निर्वाचित हुने जनप्रतिनिधिहरुले स्थानीय सरकारको हैसियत प्राप्त गरे । योसंगै जनप्रतिनिधिहरुमा दम्भ, घमण्ड र सुविधाको भोकले प्राथामिमता पायो ।
जनताबाट निर्वाचित भएका जनप्रतिनिधिहरुका गतिविधिका केही फोटाहरु सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् । जुन जनमानसमा अपाच्य देखिन्छ। सामाजिक सञ्जालमा हाँसो र व्यांङ्ग्यको विषय बनेको छ।
धनकुटाको महालक्ष्मी नगरपालिकाका मेयर परशु नेपालले टेबुलमा चढेर सलामी ग्रहण गरेको फोटो भाइरल बनेसँगै ओखलढुंगाबाट प्रदेशसभा ‘क’का लागि निर्वाचित सांसद अम्बिरबाबु गुरुङले पिर्कामा चढेर सलामी ग्रहण गरेको फोटो पनि सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।
तत्कालीन नेकपा एमालेबाट मेयरमा विजयी भएका परशु नेपाल हाल एकीकृत पार्टी नेकपाका नेता समेत हुन् । एक कार्यक्रममा उनी टेबुलमाथि चढेर सलामी ग्रहण गरेका थिए । ओखलढुंगाबाट प्रदेशसभा ‘क’का लागि निर्वाचित सांसद अम्बिरबाबु गुरुङले पिर्कामा चढेर सलामी लिएका थिए । उनी पनि पूर्व एमाले नेता हुन् ।
राष्ट्रपति रनिङ शिल्ड खेल प्रतियोगिताका दौरान उनलाई खेल मैदानमै सिद्धिचरण नगरपालिकाका विद्यार्थीहरुले सलामी दिएका थिए । त्यस्तै प्रदेश सभा ‘ख’बाट निर्वाचित प्रदेश सांसद मोहनकुमार खड्काले पनि पिर्कामा चढेर सलामी लिएका थिए । यी तस्वीरहरलाई लिएर सामाजिक सञ्जालमा व्यंग्य र आक्रोश मिश्रित प्रतिक्रियाहरु व्यक्त भएका छन् । कतिपयले जनप्रतिनिधिलाई सलामीको भोक लागेको प्रतिक्रिया दिएका छन् ।