ललितपुर/ ३१ वैशाख, नेपाल सरकारका वर्तमान सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा एकपछि अर्को विवादमा रुमल्लिन थालेका छन् । मिडिया काउन्सिल सम्बन्धि विधेयकको रक्षा गर्ने क्रममा आफू खुशी बोल्न थालेपछि उनको सामाजिक संजालमा पनि आलोचना चुलिएको छ ।

त्यसो त मन्त्री बाँस्कोटाले सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै पत्रकारहरुलाई गालीगलौच गर्ने र मानमर्दन गर्ने अभिव्यक्तिहरु सार्वजनिक हुँदै आएको छ । २०७५ असोज १८ गते विहिवार भएको संसदको विकास तथा प्रविधि समितिको बैठकमा मन्त्री बाँस्काटाले पत्रकारलाई ‘दसैं आएको छ पैसा लिन आए हुन्छ’ भनेका थिए । यो एक हिसावले पत्रकारहरुलाई मानमर्दन नै गरिएको थियो ।

एउटा जिम्मेवार पदमा रहेका व्यक्तिले अरुको पेसागत मर्यादामा आँच आउने र अपमान हुने गरी दिएको यो र यस्ता अनगिन्ती अभिव्यक्तिलाई लिएर वर्षौंदेखि इमानदारीपूर्वक पत्रकारितामा सक्रिय पत्रकारलाई निराश पारेको छ। नेपाल पत्रकार महासंघले विज्ञप्ति निकालेरै मन्त्री बाँस्कोटाले दिएको अभिव्यक्तिको भतसर्ना गरेको थियो भने कतिपय पत्रकारले सामाजिक सञ्जालमार्फत बाँस्कोटाप्रति रोष प्रकट गरेका थिए ।

यसअघि, नेपाल टेलिभिजनमा अराजक शैलीमा प्रस्तुत हुँदै ‘प्रश्न सहन नसकेर पत्रकारलाई जागिरबाट निकालेर’ विवादमा आएका बाँस्कोटालाई दिगम्भर झा नियुक्तिमा २० करोड घोटाला गरेको आरोप समेत लाग्यो । तर, मन्त्रीजस्तो पदमा रहेर सम्हालिन नसक्दा उनी एकपछि अर्को गर्दै अलोकप्रियताको सिँढी चढिरहेका छन् ।

यही २०७६ वैशाख ३१ गते मंगलवार चितवनको सौराहमा आयोजित एक कार्यक्रममा संचार मन्त्री बास्कोटाले अमेरिकामा पत्रकारलाई १ करोडसम्म जरिवना हुन्छ भन्ने अभिव्यक्ति दिएपछि त्यसको चौतर्फी आलोचना भएको छ ।

धेरै मानिसले पूँजीवादी राष्ट्र अमेरिकाकै अनुशरण गर्ने हो भने नेपालमा कम्युनिष्ट दर्शनको भारी बोकाएर नेपाली जनतालाई किन बेवकुफ बनाएको भन्दै प्रश्न गरेका छन् । केहीले भ्रष्टाचारमा मुछिएका मन्त्रीहरुतर्फ कटाक्ष गर्दै चीनमा भ्रष्टाचार गर्ने नेताहरुलाई के गरिन्छ मन्त्रीज्यू भन्दै प्रश्न गरेका छन् ।

केही व्यक्तिले प्रधानमन्त्रीलाई सम्बोधन गरी सञ्चार मन्त्रीलाई पदबाट हटाउन सुझाव दिएका छन् । मन्त्री बास्कोटा जति दिन पदमा बस्नछन्, त्यति नै सरकार बदनाम हुँदै जाने उनीहरुको दावी छ ।

कार्यक्रममा सञ्चारमन्त्री बास्कोटाले बिधेयकको विरोध गर्नेहरु लहडमा कराइरहेको आरोप लगाए । विधेयक संविधान बाहिर नभएको भन्दै उनले कुरै नबुझेर विरोधमा नउत्रिन आग्रह पनि गरे । विधेयकले नेपाली संचारमाध्यमलाई व्यवस्थित र मर्या्दित बनाउने उनको दावी छ । समानुपातिक विज्ञापन नीति र क्लिन फिड लाग्नु गर्न नदिने तत्वले विधेयकविरुद्ध अपवाह फैलाइरहेको उनको तर्क थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here