ललितपुर/ ३० वैशाख, संस्कृतिविद, वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी सोमबारबाट १०० वर्षमा प्रवेश गरेका छन्। शताब्दी पुरुष जोशी एक सयौं वर्षमा पुगेको अवसरमा ललितपुर महानगरपालिकाले विशेष कार्यक्रम आयोजना गर्यो।

जोशीको शताब्दी वर्ष प्रवेशको अवसरमा उनलाई बग्गीमा राखेर नगर परिक्रमा गराइएको छ। जोशीलाई मंगलबजारदेखि लगनखेल, कुमारीपाटी, जावलाखेल परिक्रमा गराउँदै पुल्चोक महानगरपालिका परिसरमा पुर्याइयो। जोशीलाई नगर परिक्रमा गराउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका ब्यान्ड पनि सहभागी थिए। जोशीको एक सयौं जन्मोत्सवका अवसरमा ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाले सोमबार सार्वजनिक बिदा दिएका थिए।

जोशीलाई शुभकामना दिन बिहानैदेखि उनको निवासमा शुभेच्छुकको भीड लागेको थियो। सत्यमोहनको एक सयौं जन्म दिन मनाउन महानगरका मेयर चिरीबाबु महर्जनको अध्यक्षतामा एक सय ११ सदस्यीय जन्मोत्सह मूल आयोजक समिति गठन गरिएको थियो।

संस्कृतिविद् जोशी १०० वर्ष पुगेको अवसर पारेर सोमबार बिहान उनकै निवासमा आफन्तजनहरूले सुस्वास्थ्य र दीर्घायूको कामना गरेका छन्। बिहानै निवास पुगेका ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र आफन्तले सुश्वास्थ्य र दीर्घायूको कामना गरेका थिए। त्यस अवसरमा जोशीको दिर्घायू र सुश्वास्थ्यको कामना गर्दै नेवारी परम्परागत शैलीमा पूजापाठ गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here