काठमाडौं/२४ वैशाख, प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रयोग गरेको शब्दलाई लिएर संसदमा हंगामा भएको छ । प्रधानमन्त्री ओलीले आक्रोस, कुण्ठा र निम्छरो अभिव्यक्तिहरुलाई वास्ता नगरेर प्रश्नहरुको जवाफ दिन्छु भनेपछि संसदमा हंगामा भएको हो। प्रधानमन्त्रीको यस्तो भनाईलगातै  प्रमुख विपक्षी दल कांग्रेसका सांसदहरुले संसद अवरोध गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदको प्रश्नलाई ‘निम्छरो’ भनेपछि विपक्षी सांसदले रेकर्डबाट हटाउन माग गर्दै संसदमा हंगामा गरे । जवाफमा प्रधानमन्त्री ओलीले पनि संसदमा आफूमाथि ‘अपशब्द प्रयोग भएको’ गम्भीर आरोप लगाउँदै रेकर्ड हेर्न माग गरे ।

प्रधानमन्त्री र कांग्रेस सांसदको जुहारीले मंगलबार संसदमा हंगामा नै भयो । तर, सभामुख कृष्णबहादुर महराले भने न प्रधानमन्त्रीको मागको सम्वोधन गरेका छन्, न त कांग्रेसको नै । सभामुख आफ्नो ध्यानाकर्षण भएको भन्दै पन्छिएका छन् ।

प्रश्न सोध्दा ओलीलाई असैह्य !

सरकारको नीति तथा कार्यक्रम संसदमा पेश भएदेखि नै प्रतिपक्षको निशानामा परेका प्रधानमन्त्री ओलीमाथि मंगलबार संसदमा निकै टर्रा प्रश्नहरुको वर्षा भयो । प्रायः कडा प्रश्न, सवाल-जवाफ र आलोचना नरुचाउने प्रधानमन्त्री ओलीका लागि संसदको यो परिवेश रुचीकर नलाग्नु स्वाभाविकै थियो ।

विपक्षी सांसदहरुले प्रधानमन्त्रीमाथि निकै नै कडा प्रश्नहरु सोधेका थिए, जसलाई प्रधानमन्त्री ओलीले आफूमाथि अपशब्द प्रयोग भएको अर्थमा व्याख्या गरेका छन् । सत्तारुढ नेकपाले प्रधानमन्त्रीमाथि अपशब्द प्रयोग भएको हो या हैन भन्नेबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन ।

सरकारको नीति कार्यक्रममाथि उठेका प्रश्नबारे मंगलबार प्रधानमन्त्रीले पहिलो चरणको जवाफ दिएपछि सभामुखले सांसदहरुलाई थप स्पष्टीकरण माग्ने समय दिए । त्यसपछि कांग्रेस सांसदहरुले प्रधानमन्त्रीलाई एकपछि अर्को प्रश्नको वर्षा गरे ।

प्रधानमन्त्रीमाथि महाकालीमा पुल बनाएको भनेर झूठा विवरण पेश गरेको, ३३ किलो सुन खोई रु निर्मला पन्तको हत्या चाहिँ कहिले पत्ता लाग्छ रु लगायतका थुप्रै प्रश्न विपक्षी सांसदहरुले राखे ।

संसदमा प्रधानमन्त्रीमाथि वषिर्एका केही प्रश्न यस्ता थिए-

-पहिले प्रधानमन्त्री हुँदा काँधमा ग्यास बोक्नुपर्दैन, साइकलमा सिलिण्डर बोक्नु पर्दैन, धारामा पानी खोल्दा जस्तै आउँछ भन्नुभएको थियो, चार वर्ष बितेछ, कहिले आउँछ ?

-भ्रष्टाचारीको मुख हेर्दिनँ भन्नुभएको छ तर, २५ अर्बभन्दा माथिको ठेक्का प्रधानमन्त्री ओलीले लगाउने भनिएको छ । अब भ्रष्टाचार प्रधानमन्त्री आफैंले गर्ने हो वा अरुलाई गर्न दिने हो ?

-मार्सी चामलदेखि मन्दिरको दर्शन गर्न आउनेको लिस्ट जारी गर्‍यो भने बल्ल थाहा हुन्छ कि भ्रष्टाचारको मुख उहाँले हेर्नुहुन्छ वा हुन्न‘

-वाइडवडी खरिद प्रकरण, बालुवाटारको जग्गा प्रकरणमा अभुतपूर्व काम गरेको भनी स्वयमको प्रशंसा गर्नुभयो । छानविन गर्ने निकाय एकातर्फ, फैसला दिने प्रधानमन्त्री । मन्त्रीज्यू निर्दोष हुनुहुन्थ्यो, महासचिव ठगिनु भएछ, अर्का महासचिव विचरा! यस्तो कुरा प्रधानमन्त्रीजीले कहाँबाट थाहा पाउनुभयो ?

-प्रधानमन्त्रीज्यू, तपाई हाम्रो बीचमा सञ्चार व्यवधान भएकै छ । हामीले भनेको कुरा तपाईलाई गम्भीर लाग्दैन । तपाईले बोलेका कुरा आम नागरिकलाई ख्यालठट्टा, व्यग्यविनोद लाग्न थालेको छ । यो व्यवधान अन्त्य कहिले हुन्छ ? कम्बोडिया भ्रमण पछाडि वा अझ पर्खिनुपर्छ ?

आदि इत्यादि‘ ।

सांसदका प्रश्नलाई ‘निम्छरो’ भनेपछि‘…….

प्रधानमन्त्री ओलीले ‘आक्रोश, कुन्ठा र निम्छरो अभिव्यक्तिहरु वास्ता नगरेर प्रश्नहरुको जवाफ दिन्छु’ भन्दै आफ्नो सम्बोधन सुरु गरे ।

लगत्तै कांग्रेस सांसद मीन विश्वकर्माले निम्छरो भन्नु संसदीय मर्यादा विपरीत भएको भन्दै नियमापत्ति गरे । विश्वकर्मा तिनै सांसद हुन्, जसले प्रधानमन्त्रीलाई २५ अर्बभन्दा माथिको ठेक्कालाई लिएर भ्रष्टाचार आफैंले गर्ने हो ? भनेर आक्रामक प्रश्न सोधेका थिए ।

यसले प्रधानमन्त्रीलाई थप आक्रोशित बनाएको हुनसक्ने नेकपाका एक सांसदले सुनाए । जसका कारण प्रधानमन्त्रीले ‘जवाफ चाहिन्छ कि चाहिँदैन रु’ भनेर घुक्र्याएनन् मात्र, रोष्टमबाटै विपक्षी सांसदहरुसँग मुखमुखै लागे ।

रोष्टमबाट प्रधानमन्त्रीले सांसदहरुलाई ओठे जवाफ फर्काउन थालेपछि विपक्षी सांसदले सभामुखलाई सोधे- ‘यो संसद तपाईले चलाउने हो कि प्रधानमन्त्रीले ? सभामुखज्यू संसदको मर्यादा कायम राख्नुहोस् ।’

रोष्टममा उभिएका प्रधानमन्त्रीले पनि प्रश्न गर्दा सीमा र मर्यादा ख्याल राख्न सांसदहरुलाई आग्रह गरे ।

प्रधानमन्त्रीको बोली भूईमा खस्न नपाउँदै कांग्रेसका सांसदहरुले उठेर विरोध गरे, प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे । सभामुखले आफ्नो ध्यानाकर्षण भएको बताए । विपक्षी सांसदलाई प्रधानमन्त्रीको जवाफ सुन्न दिन आग्रह गरे ।

सभामुख र विपक्षी सांसदबीच गलफत्ति चलिरहेका बेला प्रधानमन्त्रीले भने, सभामुख महोदय, रेकर्ड खोलेर सुनियोस् कुन प्रकारका शब्दहरु प्रयोग भएका छन् ?

कांग्रेस सांसदहरुले रेकर्ड सुन्न चुनौती दिए । त्यसपछि प्रधानमन्त्री सांसदहरुलाई घुक्र्याए, ‘आफ्नो प्रश्नको जवाफ चाहिएको छ कि छैन ? म जान्न चाहन्छु ।’ कांग्रेस सांसदहरु उभिएर केही भन्दै थिए, प्रधानमन्त्री ओलीले फेरि सोधे- ‘प्रश्नको जवाफ चाहिएको छ कि छैन ?’

कांग्रेस सांसदहरुको विरोध गरिरहँदा प्रधानमन्त्री ओलीले ‘मर्यादित ढंगको व्यवहार गर्न सिक्नुस्’ भने । उनले चौर औंला ठड्याएर भने, ‘प्रश्न सोध्ने अधिकार हो तर, अपशब्द प्रयोग गर्ने अधिकार होइन । अपशब्द बोल्ने अधिकार होइन ।’

सभामुखले प्रधानमन्त्रीलाई बोल्न दिए । विपक्षी सांसदहरुले सभामुखलाई संसदीय मर्यादा कायम राख्न माग गर्दा प्रधानमन्त्रीले जवाफ दिए ‘मैले सभामुखजीलाई होइन, तपाईहरुलाई जवाफ दिने हो ।’

सत्तारुढ संसदले विपक्षीको अवरोधको विरोध गरेपछि संसदमा गाईजात्राजस्तै देखियो । प्रमुख विपक्षी दल कांग्रेसका सांसदहरु उभिएरहेका बेला प्रधानमन्त्री ओलीले एकाध प्रश्नको मात्रै जवाफ दिए र रिसाउँदै आफ्नो सम्बोधन टुंग्याए ।

संसदीय मर्यादाविपरीत प्रधानमन्त्री र विपक्षी सांसदहरुबीच सवाल- जवाफ भइरहँदा सभामुख महरा भने निरीहजस्तै देखिए । उनले न प्रधानमन्त्रीको ‘निम्छरो’ भन्ने शब्द रेकर्डबाट हटाउन आदेश दिन सके, न विपक्षी सांसदहरुलाई चित्त बुझाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here