काठमाडौँ/ १८ वैशाख, कवि अशोक कुँवर ‘नेत्र’को ‘घनश्यामलाई चिठी’ सार्वजनिक भएको छ। शनिबार काठमाण्डौमा भएका एक विशेष समारोहमा उनको कृति सार्वजनिक भएको हो । ‘घनश्यामलाई चिठी’ गद्य शैलीमा लेखिएका कविताहरुको महत्वपूर्ण संग्रह भएको कवि कुँवरले वताए।

पहिलो कविता सङ्ग्रह ‘आस्थाका बन्दीहरू’ पाठकमाझ ल्याएको दस वर्षपछि उनको दोस्रो कविता सङ्ग्रह ‘घनश्यामलाई चिठी’ पाठकमाझ आएको हो ।कवितामार्फत समाज परिवर्तन र रूपान्तरणको स्वर उराल्ने कवि कुँवरका ३५ भन्दा बढी प्राज्ञिक पुस्तकहरू, फुटकर रूपमा विभिन्न पत्रपत्रिकाहरूमा कविता, कथा, समालोचना प्रकाशन हुँदै आइरहेका छन् ।

बिडी त्यागी स्मृति केन्द्र, कपनको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मान वितरण कार्यक्रमसँगै उनको उक्त पुस्तक विमोचन भएको हो । पुस्तकबारे प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा. हेमनाथ पौडेलले समीक्षात्मक टिप्पणी गरेका थिए ।

नेपाली प्रगतिवादी साहित्यिक आन्दोलनमा क्रियाशील कुँवरको उक्त पुस्तकमा जम्मा ५० कविताहरू संग्रहित छन् । संग्रहित कविताहरूले समसामयिक प्रदूषित राजनीतिक प्रणाली, राजनीतिक दलका नेताहरू, भ्रष्ट प्रशासक, विकृति, विसङ्गति, दुराचार प्रवृत्तिमाथि तिखो व्यङ्ग्य प्रहार गरेको पाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here