ललितपुर/९ पौष, २०७५ पौष ८ आइतवार । झमकक साँझ पर्दै थियो । हामी पाटनको खपिन्छे टोलमा पुग्दा नेवारी समुदायका युवाहरु उत्साहका साथ ‘योमरी’ सहितको चित्र कोरिरहेका थिए । ‘योमरी’ नेवार समुदायमा बनाइने एक खाना परिकार हो । नेवार समुदायका महिला दिदीबहिनीहरु हाकु पटासीमा सजिजिएर मुस्कानका साथ आगन्तुकहरुलाई स्वागत गर्न तत्पर थिए । केहीबेर पछि ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जन, ललितपुर महानगरपालिकाका मेयर चिरीबावु महर्जन, उपमेयर गीता सत्याल, ललितपुरका प्रहरी प्रमुख रबिन्द्र धानुक लगायतका अतिथिहरुको आगमन भयो । त्यससैगै एक हुल नेवारी युवायुवतीहरु नेवारी गीत र बाजागाजाका साथ आइपुगे। उनीहरुले गाइरहेको गीतको एउटा अँश यस्तो थियो:–
‘योमरी तुयु, उंकिया दुने चाकु,
नये बले माकु, दुरुभरी ताकु,
बिउसा ल्यास्से,
मबिउसा सितिकुति बूढी’ …………

यो गीतमा उनीहरुले भनिरहेका छन्,
योमरी सेतो, त्यसभित्र चाकु
खाँदाखेरि मीठो, कुराउनी हकुलो
योमरी दिए तरुनी,
नदिए चाउरी बूढी’ ………
यो गीतमा उनीहरुले फकाउँदै ‘योमरी’ मागिरहेका थिए । त्यो नेवारी समुदायको मौलिक कार्यक्रम रहेछ । यसलाई ‘त्यःछिं तियः’ भनिदो रहेछ । नेवारी समुदायले स्थानीय मौलिक बाजागाजासहित घरघर र टोलटोलमा गएर योमरी माग्दा गाउने गीतको एक अंश हो यो । पाटनमा ४० वटा टोलहरु छन् । ४० वटा टोलहरु मध्ये खपिन्छे एउटा टोल हो । जहाँ हामी पुगेका थियौं ।

अत्यन्तै रोमाञ्चक थियो पाटन खपिन्छेको ‘त्यःछिं तियः’। पाटनमा योमरी पुन्हीदेखि ४ दिनसम्म ‘त्यःछिं तियः’ (टोलटोलमा गएर योमरी माग्ने) मनाउने प्रचलन छ । दिनमा १० वटा टोलमा पुग्ने उनीहरुको समयतालिका रहेको वताए एक नेवारी अग्रज व्यक्तित्वले हामीलाई ।

नेपाली समुदायमा तिहारमा देउसीभैलो खेलेजस्तै नेवारी समुदायमा योमरी पुन्हीमा योमरी माग्ने प्रचलन छ । यो माथिको गीत केही अंश मात्रै हो, यस्ता धेरै मनोरञ्जनात्मक नेवारी संस्कृतिका मौलिक गीतहरु छन् । जसले जीवनका हरेक पक्षलाई छोएको हुन्छ । तर पछिल्लो समय यो गीत गुञ्जन छोडेको छ । कति नयाँ पुस्तालाई योमरी पुन्हीमा गाइने गीतबारे जानकारीसमेत छैन ।

मंसिर शुक्ल पूर्णिमा अर्थात् धान्य पूर्णिमाको दिनलाई नेवारी समुदायले योमरी पुन्हीको रूपमा मनाउँछन्। यो पुन्ही यस वर्ष पुस ७ गते शनिबार परेको थियो । यो पुन्ही विशेषतः खाने पर्व हो। तर यसको सांस्कृतिक एवं साहित्यिक महत्व बढी छ। योमरी भनेको मनपर्ने रोटी हो। नेवारीमा ‘यो’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी हो ।

चामलको पीठो र चाकु तथा खुवा र तिल प्रयोग गरेर योमरी बनाइन्छ। यो बफाएर पकाइने भएकाले स्वास्थ्यका दृष्टिले पनि स्वस्थकर र पौष्टिक हुन्छ। अरू रोटी सुक्खा हुन्छ। चाकु तथा खुवा र तिल प्रयोग गरेर पकाइने भएकाले योमरी साँच्चै मीठो र स्वादिलो हुन्छ। चिसो मौसममा चाकु र तिलसहितको तत्तातो योमरी खाँदा शरीरले ऊर्जा प्राप्त गर्छ।

यस्तो मीठो योमरी खानकै लागि नेवारी समुदायमा योमरी माग्न जाने प्रचलन रहेको वताउँछन् , ज्यापू समाज यलका पूर्व अध्यक्ष रामकाजी अवाले । उनका अनुसार एउटै योमरीको स्वाद हातैपिच्छे फरकफरक हुन्छ। त्यसैले फरकफरक स्वादको योमरी खाने लोभले परापूर्वकालदेखि योमरी माग्न जाने परम्पराको विकास भएको भनाई छ उनको । ‘त्यत्तिकै माग्न जाँदा योमरी पाइँदैन। त्यसैले गीत गाउने परम्पराको विकास भएको हो’, ललितपुर महानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष राजु महर्जन भन्छन्, ‘गीत गाएरमात्रै पनि योमरी पाइँदैन। त्यसले अर्थ बोक्नुपर्छ। भावना व्यक्त गर्नुपर्छ।’
‘त्यःछिं तियः’ को अन्त्यमा ज्यापु समाज यलका अध्यक्ष चन्द्र महर्जनले मन्तव्य राख्दै यस्तो मौलिक संस्कृतिको जगेर्ना गर्दै ज्यापु समुदायको इतिहासको संरक्षण गर्नुपर्ने वताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here