ललितपुर/ ३ पौष, ‘कला संस्कृतिको पहिचान, ललितपुर महानगरको अभियान’ भन्ने नाराका साथ ललितपुरमहानगरपालिकाले आफ्नो शतवार्षिकी मनाएको छ । विक्रम सम्वत् १९७५ मा सफाइ अड्डाको नाममा स्थापना भएको कार्यालय वि.सं.२००९ सालमा ललितपुर नगरपालिका भएको थियोे ।पछि वि.सं. २०१८ सालमा ललितपुर नगरपञ्चायतमा रुपान्तरण भएको यो कार्यालय वि.सं. २०४६ सालको परिवर्तनपछि २०४७ मा ललितपुर नगरपालिकामा परिणत हुँदै २०५२ सालमा ललितपुर उपमहानगरपालिका बनेको थियो । २०७३ साल फागुनमा यो उपमहनगरपलिका महानगरपालिकामा रुपान्तरण भएको हो ।

शतवार्षिकी कार्यक्रममा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले ललितपुर उपमहानगरलाई काठमाण्डौं महानगरपालिकाको छाँयाका राखेर हेर्न नमिल्ने उल्लेख गरे । मुख्यमन्त्री डोरमणि पौडेलले यहाँको कला र संस्कृतिको पहिचानलाई विश्व सामु उजागर गराउँदै जनताले अनभूत गर्ने किसिमको विकास हुनुपर्ने कुरामा जोड दिए । उनले जनप्रतिनिधिलाई साना मसिना काममा नअल्झिन समेत सुझाव दिए । उनले भने, ‘साना मसिना काम भइराख्छन्, दूरगामी प्रभाव पर्ने महत्वपूर्ण काम गर्नुहोस्, वर्षमा एउटामात्रै राम्रो काम हुन सक्यो भने पनि पाँच वर्षमा ५ वटा राम्रा काम हुन्छन् ।’

hशताब्दी पुरुष सत्यमोहन जोशीले ललितपुरलाई सिटी अफ फाइन आर्ट एन्ड क्राफ्टको संज्ञा दिदैं आजको ललितपुर महानगरपालिका सानो प्रयास र मिहिनेतले नभएको बताए । कलासंस्कृतिको संरक्षणका लागि सबैको योगदान महत्वपूर्ण भएको बताए । शताब्दी पुरुष जोशीले ललितपुरको इतिहासको सर्बत्र चर्चा हुने भन्दै यसलाई ‘सिटी अफ फाइन आर्टस एण्ड क्राआफ्ट’का रुपमा व्याख्या गर्ने गरिएको बताए । परिवर्तनका लागि समय लाग्ने भन्दै उनले विस्तारै विकासका क्षेत्रमा ललितपुर अघि बढेको बताए ।

काठमाण्डौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ललितपुर र काठमाण्डौं महानगरपालिका संगसंगै मिलेर विकासको काममा क्रियशील भएर लाग्ने उल्लेख गरे । शाक्यले सीमित अधिकार लिई सफाइ अड्डाको रूपमा काम थालेको संस्थाले स्थानीय सरकारको रूप लिएकोमा बधाई दिए । उनले विकासका गतिविधिमा सहकार्य गरेर अघि बढ्नुपर्ने बताए ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद जोशीले नगर नगरबीच विकासमा प्रतिस्पर्धा गरेर काम गर्नुपर्ने बताए । उनले भने, ‘यो प्रतिस्पर्धा वडा/वडाबीच पनि हुनुपर्छ, जसले गर्दा विकास जनचाहना अनुरूप हुन्छ ।’

ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद भट्टराईले सबैको योगदानबाट मात्रै यो संस्था सफाइ अड्डाबाट विकसित हुँदै महानगर बन्न सकेको बताए ।

शतवार्षिकीको अवसरमा ललितपुर महानगरले महानगरपालिकाको लोगोसहितको स्तम्भ, मेट्रो पुस्तकालयनिर्माण र सिक्का समेत निकाल्ने तयारी गरेको छ । साथै महानगरले सामुदायिक नगर अस्पतालको सिलायन्सलगायतका काम अघि सारेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here