
ललितपुर २१ मंसिर, जिल्ला प्रशासन कार्यालय ललितपुरको आयोजनामा बागमती गाउँ पालिकाको वडा नं. ४ प्युटारमा पहिलो चरणको एकीकृत घुम्ती सेवा शिविर सम्पन्न भएको छ । मंसिर २० गते विहिवार सम्पन्न घुम्ती शिविरमा ४४ जना महिला, र ३२ जना पुरुषसमेत गरी ७६ जनाले नागरिकताको प्रमाणपत्र प्राप्त गरेको प्युटारबाट प्रकाश थिङले आम सरोकार अनलाइनलाई जानकारी दिए । जिल्ला प्रशासन कार्यालय ललितपुरको आयोजनामा आज शुक्रबार दोस्रो दिनको कार्यक्रम आज बागमती गाउँपालिकाको कार्यलय भटेडाँडामा सञ्चालन भैरहेको छ। शिविरमा जिल्लामा रहेका नेपाल प्रहरी सस्त्र प्रहरी नेपाल आर्मी, निर्वाचन आयोग लगायतका करिब १ दर्जन सरकारी कार्यालयले प्रवाह गरेको सेवाबाट सय भन्दाबढी नागरिकले लाभ पाएका छन् ।
राजधानी काठमाण्डौसंग जोडिएको जिल्ला ललितपुरको उपत्यका बाहिरै रहेको ग्रामीण क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण नागरिकहरुलाई घरदैलोमा नै सेवा पुर्याउने लक्ष्य अनुसार प्रशासन कार्यालयको आयोजनामा घुम्ती शिविरमा सम्पन्न भएको हो । जिल्ला प्रशासन कार्यालय ललितपुरले प्रवाह गर्ने सेवा सहित अन्य १ दर्जन सरकारी कार्यालयले सेवा दिएका थिए । घुम्ती शिविरमा महानगरीय प्रहरी परिसर ललितपुरको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बालबालिकाका लागि आधारभूत सुरक्षा जानकारी सम्बन्धी वृत्तचित्र समेत देखाइएको थियो ।


बिहीबार भएको शिविरमा नयाँ नागरिकता ४४ जना महिला, ३० जना पुरुषहरु समेत जम्मा ७६ नागरिकता प्राप्त गरे भने फोटो सहितको मतदाता नामावली संकलनमा ५९ जना महिला र ४१ जना पुरुषसमेत गरी १०० जनाले फोटो खिचाए । ६० जनाले कृषि खेती तथा पशु पालन सम्बन्धि परामर्श एंव जानकारी पाए भने २९ जनाले नेपाल टेलिकमको सिम लिन भ्याए । शिविर सञ्चालनले स्थानीयस्तरबाट नै सेवा पाएकोमा सहजता भएको नागरिकहरुले बताएका थिए ।
प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले बागमती गाउँपालिकामा एकीकृत घुम्ति सेवा कार्यक्रम सञ्चालन गर्नुको उद्देश्यमाथि प्रकाश पारेका थिए । उनले घुम्ती शिविरका लागि गाउँपालिकामा आएका विशेषज्ञहरुबाट सेवा लिन समेत आग्रह गरे । कार्यक्रमका सभाध्यक्ष तथा बागमती गाउँपालिकाका अध्यक्ष वीर बहादुर लामाले केही कानुनी प्रकृयाले जनताका केही महत्वपूर्ण कामहरुमा समेत अल्झिनु परेको उल्लेख गर्दै समय सापेक्ष रुपमा त्यसलाई समाधान गर्दै जाने उल्लेख गरे ।