नुवाकोट/५ मंसिर, स्थानीय सरकारको गठन भएसंगै जनताको काम सहज रुपमा गर्ने जिम्मेवारी लिएर गाउँपालिका र नगरपालिकामा खटिएका कर्मचारी र निर्वाचित जनप्रतिनिधि सुविधाभोगी हुँदा आम नागरिकहरुमा नकरात्मक असर पर्दै गएको छ । जनताको घरघरमा सेवा पुर्याउने उद्देश्यका साथ संघीय व्यवस्था लागू भई स्थानीय सरकार गठन भएता पनि त्यसको मर्म र भावना अनुरुप काम हुन नसकिरहेको अवस्था छ । यस्तै जनभावना अनुरुप भन्दापनि जनप्रतिनिधि र कर्मचारीको मनोमानीमा चलेको एउटा गाउँ पालिकाको नाम हो नुवाकोटको तादी गाउँपालिका ।
देशमा संघीय गणतन्त्रात्मक व्यवस्था लागू भई स्थानीयस्तरमा नै सबै विकास निर्माणको काम गर्न सक्ने गरी अधिकार र बजेटको व्यवस्था हुँदा नुवाकोटको तादी गाउँपालिकाका कर्मचारीहरु भने १० लाख रुपैयाँ लिएर भ्रमणमा जाने तयारीमा छन् ।
कार्यालयको काममा प्रभाव पर्ने गरी १० लाख रुपैयाँ लिएर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोक बिष्ट, सूचना प्रबिधि अधिकृत पुरुषोतम वाग्ले, इन्जिनियर योगेश खनाल, कम्प्युटर अपरेटर राजेश श्रेष्ठ, लेखा प्रमुख पवन पाठक, लेखापाल राजेश थापा, आयुर्वेदिक शाखाका प्रमुख विदुर पाण्डे, स्वास्थ्य शाखाका प्रमुख विनोद खरेल, शिक्षा शाखाका प्रमुख सहित १६ जना कर्मचारीहरु यही मंसिर ७ गते देखि मंसिर १४ गते सम्म भ्रमणमा जान लागेका हुन् । भ्रमणका लागि उनीहरुले गाउँपालिकाबाट १० लाख रुपैयाँ जुटाईसकेका छन् । ती स्थानीयवासीका अनुसार कार्यालयमा कार्यरत १६ जना कर्मचारीहरु क गाउँपालिकाको १० लाख रुपैयाँको खर्चमा मंसिर ७ गते देखि मंसिर १४ गतेसम्म रारा मुगु लगायतका विभिन्न क्षेत्रहरुमा भ्रमणमा जान लागेका हुन् ।

प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा सरकार बनेपछि राज्यकोषको ढुकुटीबाट ठूलो रकम निकालेर अनावश्यक भ्रमण लगायतका गतिविधिहरु पछिल्लो समय बढिरहेको कुरा उठिरहेको बेला नुवाकोटमा हुन लागेको भ्रमणले पनि कर्मचारीहरु र जनप्रतिनिधिहरु विराली र सुविधाभोगी भएको पुष्टि गरेको छ । सरकारले फजुल खर्च रोक्नका लागि प्रतिवद्धता जनाएपनि नुवाकोटको तादी गाउँपालिकामा कार्यालयका सम्पूर्ण गतिविधिहरु बन्द नै गरेर कर्मचारीहरु लामो समयको लागि घुमफिरमा जान लागेको जानकारी पाएका स्थानीयहरुहरु सरकारी कर्मचारीहरुको चाला देखेर चिन्तित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here