ललितपुर/ २७ भाद्र, सामाचर लेखेकै आधारमा पत्रकार राजु बस्नेतलाई प्रहरीले हत्कडी लगाएर हिरासतमा राखेको छ । बस्नेत खोजतलास साप्ताहिक तथा खोजतलासन्यूज डटकमका हुन् । बस्नेतले हरिसिद्धी ईटा, टायल कारखानाको जग्गा बिक्री प्रकरणको समाचारलाई प्रमुखताका साथ उठाउँदै आएका थिए । यसमा संघीय सांसद तथा नेकपाकी नेतृ पम्फा भुषाल, प्रदेशसभा सदस्य तथा नेकपा ललितपुरका नेता राजकाजी महर्जन लगायतको नाम जोडिएको छ । यसैलाई आधार बनाएरसुशील खनालको जहेरीलाई आधार बनाउँदै राजु बस्नेतलाई अदालतको आदेश लिएर प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई प्रहरीले विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान गर्ने भनी काठमाडौं जिल्ला अदालतबाट २०७५ भाद्र २४ गते पक्राउ पुर्जीका लागि आदेश लिएर पक्राउ गरी मुद्दा चलाउने तयारी गरेको छ ।

पत्रकार बस्नेत ३ दिनदेखि प्रहरी हिरासतमा छन् भने प्रहरीले हत्कडी लगाएर सरकारी वकिलको कार्यालयसम्म ल्याउने र अदातलसम्म पनि हतकडी नै लगाएर पुर्याउने गरेको छ । सुचना विभागमा दर्ता भइ प्रेस काउन्सिलमा सुचिकृत भएका कुनै पनि समाचार संस्थालाई समाचार प्रकाशन र प्रसारण गरेकै आधारमा विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा नलगाउने मान्यता विरुद्ध एवं सो ऐनमा आकर्षित नै नहुने विषयमा राज्यसत्ताको चरम दुरुपयोग गरी पत्रकारलाई अनावश्यक दुःख दिने र धरपकड गर्ने पूर्वाग्रही सोच र मनसाय अनुसार पत्रकार बस्नेतलाई पक्राउ गरिएको घटनाप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको छ ।
सरकारले आफ्ना कमजोरी र भ्रष्टाचारका विषयहरु लुकाउन सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि ऐन र अदालतको दुरुपयोग गर्दै राज्यसत्ताको शक्तिको आडमा आक्रमणमा उत्रिएकोप्रति नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, नेपाल पत्रकार महसंघ उपत्यका प्रदेश शाखा, नेपाल प्रस युनियन, ललितपुर समेतले घोर भत्सर्ना गर्दै विज्ञप्ती प्रकाशित गरेका छन् । एकपछि अर्को गर्दै विभिन्न वहानामा वा विचार, सिद्धान्त र आस्था नमिलेकै आधारमा संचारकर्मी र संचारमाध्यममाथि सरकारले गरिरहेको दमन, विभेद र पक्राउ जस्ता अत्यन्तै आपत्तिजनक घटनाको युनियनले निन्दा गरेको छ ।

प्रकाशित वा प्रशारित समाचारका बारेमा असहमति भए नेपाल प्रेस काउन्सिल मार्फत खण्डन प्रकाशित गर्ने वा अन्य कानुनी उपचार हुँदाहुँदै संचारकर्मीलाई पक्राउ गर्ने र विद्युतीय कारोबार ऐन मुद्दा चलाउनेजस्ता गैरजिम्मेवारीपूर्ण र आपत्तिजनक घटनाले सिंगो नेपाली प्रेस तथा प्रेस स्वतन्त्रतामाथिको नाङ्गो आक्रमण भएको नेपाल प्रेस युनियनको ठहर छ । घटनाको सत्यतथ्य छानविन गरी पक्राउ परेका संचारकर्मी राजु बस्नेतलाई विना शर्त रिहाइ गर्न नेपाल प्रेस युनियन र पत्रकार महसंघले जोडदार माग गरेको छ ।