ललितपुर/१५ साउन, सरकारको सर्वसत्तावादी चिन्तन र जनतामाथि थोपरिएको अस्वभाविक कर,मुल्यबृद्धि विरुद्ध नेपाली कांग्रेसले आज ७७ वटै जिल्लामा बृहत प्रदर्शन गरेको छ । सोही अनुसार ललितपुरमा पनि आज पुल्चोकबाट सुरु भएको विरोध र्याली मंगलबजार, हुँदै लगनखेलसम्म आएर कोणसभामा परिणत भई सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष खड्गप्रसाद केपी शर्मा ओली नेतृत्वको सरकार सर्वसत्तावादको बाटोमा हिँडेको भन्दै नेपाली कांग्रेसले विरोध प्रदर्शन गरेको हो। सरकारले थोपरेको अस्वभाविक कर र वद्मासी बिरुद्ध कांग्रेस सडकमा आएको हो,सभापति अमात्यले भने ।

नेपाली कांग्रेस ललितपुरका सभापति मदनबहादुर अमात्यले ओली नेतृत्वको वर्तमान सरकार प्रजातान्त्रिक पद्धति र संविधानलाई नमानेर उश्रृङखल भएर हिँडेको उल्लेख गरे। कोणसभामा मन्तव्य राख्दै सभापति अमात्यले भने, ‘ओली जी तपाईको सही ढंगले सरकार चलाउनुहोस् तर प्रजातान्त्रिक पद्धति र संविधानलाई मिच्न पाइँदैन।’ उनले सरकारको कार्यशैली, बढ्दो महँगी, भ्रष्टाचार, प्रेस स्वतन्त्रतामाथिको प्रहार भएका कारण यो सरकारको बिरोधमा उत्रनु परेको उल्लेख गरे। सभापति अमात्यले ओली सरकार विवेक र नैतिकता नभएको भन्दै विवेक र नैतिकता सिक्न कांग्रेससँग आउन आग्रह गरे।

त्यस्तै पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणाले यो सरकार अधिनायकवादी र सर्वसत्तावाद भएको कारण कांग्रेस बाध्य भएर बिरोधमा उत्रनु परेको बताए। पूर्वअर्थराज्यमन्त्री राणाले दुई तिहाइको दम्भमा न्यायपालिकामाथि समेत हस्तक्षेप सुरु गरेको भन्दै यो कांग्रेसलाई सह्य नहुने बताए। उनले सरकारले जथाभावी आफूखुसी ढंगले बढाएका अस्वभाविक कर तत्काल फिर्ता लिन माग समेत गरे।

विरोध  कार्यक्रममा नेपाली कांग्रेस ललितपुरका जिल्ला तहका नेताहरु, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, क्षेत्रीय तहका पदाधिकारीहरु, स्थानीयस्तरका नेता तथा कार्यकर्ताहरुका साथै नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल शिक्षक संघ, नेपाल महिला संघ, नेपाल ट्रेड युनियन कांग्रेसलगायत कांग्रेससंग आवद्ध भातृ संस्थामा आबद्ध नेता तथा कार्यकर्ताहरु समेतको उल्लेख्य उपस्थिति रहेको थियो ।