ललितपुर/ २८ वैशाख, ललितपुरको दक्षिणी भेगमा रहेको बाग्मती गाउँपालिकामा पहिलो पटक बैकको शाखा सञ्चालनमा आएको छ । कुमारी बैंकले आजबाट शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । बाग्मती गाउँपालिका वडा नम्बर ३ छपेलीमा बैंकले शुक्रबार देखि बैंकिङ्ग कारोबार सुरु गरेको छ ।

बैकको बागमती शाखामा गाउँपालिकाका प्रमुख वीरबहादुर लोप्चनले पहिलो खाता खोलेका हुन् । ग्रामीण भेगमा बैक नहुँदा स्थानीयहरु बैकिङ सेवा लिनका लागि चापागाउँसम्म आउन बाध्य थिए ।

संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा दिनका लागि नेपाल राष्ट्र बैकले देशैभर पुग्न बैकहरुलाई निर्देशन दिएपछि कुमारी बैकले बागमती गाउँपालिकामा शाखा खोल्ने प्रतिबद्धता जनाएको थियो । बैंकका शाखा प्रमुख अनिल महर्जनले बागमती गाउँपालिकाका स्थानीयलाई सबै खालका सेवा दिने बताए । गाउँपालिकामा ७ वटा वडा रहेका छन् ।