माधवप्रसाद घिमिरे
ललितपुर/ १५ बैशाख, करातेका पूर्वच्याम्पियन राजपाल कर्माचार्य आफ्नो गृह जिल्ला ललितपुरमा सम्मानीत भएका छन् । नेपाल कराते महासंघ ललितपुरले आज नयाँ वर्ष २०७५ सालको शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम आयोजना गरी कर्माचार्यलाई सम्मानीत गरेको हो । नेपाल कराते संघ ललितपुर र राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष एवं करातेका पूर्वअन्तर्राष्ट्रिय खेलाडी मीनकृष्ण महर्जनको विशेष पहलमा पूर्व अन्तर्राष्ट्रिय खेलाडी राजपाल कर्माचार्यलाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङले कर्माचार्यलाई सम्मानपत्र प्रदान गरे । ललितपुरको चापागाउँमा पिता गोपाल कर्माचार्य र आमा सानु कर्माचार्यको कोखबाट ४९ वर्ष अघि जन्मिएका राजपाल कर्माचार्यले सानै उमेरदेखि करातेप्रति चासो राखेर कराते खेललाई नै आफ्नो जीवनको लक्ष्य बनाएका थिए । 

मार्सल आर्टका सम्राट ब्रुसुली, ज्याकीच्याङको प्रतिभा देखेर मार्शलआर्ट खेल रोजेका कर्माचार्यले उक्त खेललाई नेपालमा पञ्चायत शाशकहरुले प्रतिबन्ध लगाए पनि राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्यसचिव तथा सितोरियो करातेका संस्थापक युवराज लामाबाट लुकीलुकी प्रशिक्षण लिने मौका पएका थिए । त्यसपछि २०३९ सालमा विधिबत रुपमा राष्ट्रिय खेलकुद परिषदमा सितोरियो कराते खेललाई मान्यता दिएपछि कर्माचार्यले सितोरियो कराते खेलमा प्रतिभा देखाउन सफल भए । कर्मचार्यले विभिन्न अन्तर्राष्ट्रिय प्रतिस्पर्धाहरूमा नेपालका लागि थुप्रै गोल्ड मेडलस्वर्ण पदकहरू प्राप्त गर्न सफल भइसकेका छन् । उनीद्वारा प्रशिक्षण दिएका खेलाडीले पनि स्वर्ण पदक जितेर नेपालको नाम अन्तर्राष्ट्रियजगतमा चिनाइ सकेका छन् ।

कार्यक्रमका प्रमुख अतिथिको मन्तव्य राख्दै नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङले कराते खेलका नाममा विदेश खेलाडी लगेर बेच्ने गरेको विषयमा चिन्ता व्यक्त गर्दै यस्ता कार्यहरुलाई रोक्नका लागि क्रियाशील रहन खेलाडी र प्रशिक्षकलाई आग्रह गरे।

त्यस्तै कार्यक्रममा स्वागत मन्तव्य राख्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष तथा आठौं साफ गेमका स्वर्ण पद विजेता दीपक श्रेष्ठले राजपाल कर्माचार्यको प्रेरणाले खेलकुदमा लागेको उल्लेख गरे । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्वर्ण पदक विजेता कर्मचार्यले २५/२६ वर्षदेखि जापान रहेर नेपालबाट कराते खेल्नका लागि जापान पुगेका खेलाडीलाई आफूले सक्ने सम्पूर्ण सहयोग गर्ने गरेको पनि श्रेष्ठले बताए।
करातेका प्रशिक्षक शोभितराज प्रसाईं कार्यक्रममा मन्तव्य राख्दै कराते खेल क्षेत्रमा राजपाल कर्माचार्यको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गरे ।