डम्बर अधिकारी

Ramchandra-Paudel-RSS

नेपाली कांग्रेसको १३ औं महाधिवेशनको मिति नजिकिँदै जाँदा सभापतिदेखि केन्द्रीय सदस्यसम्म उम्मेदवारी घोषणा गर्ने क्रम सुरु हुन थालेको छ । उम्मेदवारी घोषणा गर्नेक्रममा कांग्रेस उपसभापति रामचन्द्र पौडेलले समेत अघोषितरुपमा सभापतिमा आफ्नो दाबी प्रस्तुत गरिरहेका छन् । यही बीचमा उपसभापति पौडेलको नेतृत्वमा कांग्रेसभित्र नयाँ शक्तिको उदय हुने चर्चासमेत सुरु हुन थालेको छ ।

कांग्रेसवृत्त चर्चा चलेअनुसार उपसभापति पौडेललाई सभापतिको उम्मेदवार बनाउनका लागि महामन्त्री प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, शेखर कोइराला, आमोदप्रसाद उपाध्याय, अर्जुन जोशी, नविन्द्रराज जोशी, बद्री पाण्डे लगायतका नेताहरु सक्रिय भएर लागेका छन् ।

विगतलाई फर्केर हेर्ने हो भने पार्टीको १२ औं महाधिवेशनमा पनि उपसभापति पौडेलले सभापतिमा उठ्ने ठूलो झ्याली पिटाएका थिए । तर, अन्तिम समयमा  सुशील कोइरालालाई समर्थन गरिदिए

यिनीहरुका साथै कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवासँग असन्तुष्ट बन्न पुगेका विमलेन्द्र निधी तथा कांग्रेसभित्रका प्रभावशाली नेताहरु खुमबहादुर खड्का र केन्द्रीय सदस्य शंकर भण्डारीले समेत पौडेललाई सभापति बनाउन लागेको भन्दै झ्याली पिटाइएको छ ।

नेपाली राजनीतिमा चार दशकभन्दा बढी समयदेखि सक्रिय राजनीति गर्दै आएका उपसभापति पौडेलले सभापतिमा दाबी गर्नु स्वभाविक विषय पनि हो ।

किनकि कांग्रेस पार्टीको राजनीतिमा उपसभापति भइसकेको व्यक्तिले दाबी गर्ने योबाहेक अरु कुनै पद छैन । तसर्थ उपसभापति पौडेलले सभापतिका लागि गरेको दाबी स्वभाविक मान्नुपर्दछ ।

तर, कांग्रेस उपसभापति पौडेलले सभापतिका लागि दाबी गर्दै गर्दा पार्टीको १३ औं महाधिवेशनमा दह्रोसँग खुट्टा टेक्लान् त भन्ने एक किसिमको बहस कांग्रेसभित्र सुरु हुन थालेको छ । जसले गर्दा उपसभापति पौडेलले पछिल्लो पटक सभापतिका लागि गर्दै आइरहेको दावीप्रति नेता तथा कार्यकर्ताहरु खुलेर विश्वस्त हुन सकिराखेका छैनन् ।

यसो हुनुमा उपसभापति पौडेलले विगतमा देखाएको ढुलमुले प्रवृत्ति नै प्रमुख कारण भएको काग्रेसका नेता तथा कार्यकर्ताहरुको भनाइ छ ।
विगतलाई फर्केर हेर्ने हो भने पार्टीको १२ औं महाधिवेशनमा पनि उपसभापति पौडेलले सभापतिमा उठ्ने ठूलो झ्याली पिटाएका थिए । तर, अन्तिम समयमा सुशील कोइरालालाई समर्थन गरिदिए ।

Damber-Adhikari

त्यस्तै कोइराला प्रधानमन्त्री बन्ने बेलामा समेत उपसभापति पौडेलले पार्टीको तर्फबाट आफूलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा खुब प्रचार गरेका थिए । तर, अन्तिम समयमा उनले कोइरालालाई नै समर्थन गरिदिए ।

यी त उदाहरण मात्र हुन् । यस्ता थुप्रै घटनाहरु छन् । उपसभापति पौडेलले अवसर आउँदा खुट्टा दह्रो संग नटेकेका । जसका कारण पौडेलका पछि लाग्ने नेता तथा कार्यकर्ताको राजनीतिक जीवनमा निकै ठूलो क्षति हुन पुगेको देखिन्छ ।

यस्तो अवस्थामा उपसभापति पौडेललाई अन्धभक्त भएर प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, शेखर कोइराला, खुमबहादुर खड्का , विमलेन्द्र निधी र शंकर भण्डारी लगायतका नेताहरुले साथ देलान् भन्न सकिने अवस्था छैन ।

यदि उपसभापति पौडेल साँच्चि नै सभापतिका लागि भिड्ने हुन् भने सबैभन्दा पहिला उनले एक/दुई दिनभित्रै पत्रकार सम्मेलन गरी आफ्नो उम्मेदवारी घोषणा गर्नुपर्दछ । अनि उनको सर्मथनमा रहेका भनिएका नेताहरुलाई सँगै लिएर देशदौडाहामा निस्कने साहस गर्नुपर्दछ । तब मात्र पौडेलले सभापतिका लागि गर्दै आएको दाबीप्रति आम नेता तथा कार्यकर्ताले विश्वास गर्ने अवस्था रहन्छ ।

अन्यथा पौडेलले विगतकै प्रवृत्ति दोहोर्‍याउने हुन् कि भन्ने द्वीविधा आम नेता कार्यकर्तामा रहिरहनेछ ।

पौडेलले के गर्दा उत्तम होला ?

सभापतिका लागि दाबा गर्दै आएका उपसभापति पौडेलले यदि साच्चि नै सभापति बन्न चाहेका हुन् भने सर्वप्रथम उनले वर्तमान सभापति कोइरालालाई विश्वासमा लिनु जरुरी छ । किनकि कोइरालालाई विश्वास लिन सकेको खण्डमा उनी संस्थापन पक्षको उम्मेदवार बन्ने अवस्था रहन्छ ।

सभापतिमा भिडेर पाखा लाग्नुभन्दा सभापतिका अर्का आकांक्षी शेरबहादुर देउवासँग मित्रता बढाउनु पौडेलका लागि हितकर हुनेछ

यदि यो अभियानमा पौडेल सफल भए भने उनका लागि सभापतिको कुर्सी त्यति टाढाको विषय नहुन सक्छ । तर, पौडेलले कोइरालालाई विश्वास दिलाउने अवस्था निकै चुनौतीपूर्ण नै देखिन्छ ।

यस्तो अवस्थामा सभापतिमा भिडेर पाखा लाग्नुभन्दा सभापतिका अर्का आकांक्षी शेरबहादुर देउवासँग मित्रता बढाउनु पौडेलका लागि हितकर हुनेछ । किनकि कांग्रेसको महाधिवेशन सकिएलगत्तै ओली सरकार ढल्ने गाइँगुइँ सुनिन थालेको छ । यस्तो अवस्थामा देउवाको साथ लिँदा पौडेललाई प्रधानमन्त्री बन्न सहज हुन सक्छ ।

यदि उपसभापति पौडेलले पार्टी सभापति र प्रधानमन्त्री दुबै आफैं बन्न खोजेका छन् भने एउटा पद पनि हात नलाग्न सक्छ । यस विषयमा पौडेलले बेलैमा बुद्धि पुर्‍याउनु नै उत्तम होला कि ?