काठमाडौं/७ चैत, पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाको आठौं स्मृति दिवस आज बुधबार मनाइदैंछ । नेपाली राजनीतिका शीर्ष व्यक्तित्व एवं जारी शान्ति र संविधान निर्माण प्रक्रियाका सूत्रधार कोइरालाको २०६६ साल चैत्र ७ गतेका दिन ८७ वर्षको उमेरमा निधन भएको थियो । नेपाली राजनीतिमा सबैभन्दा बढी ताली, गाली खाँदै अन्त्यमा नायकको उपाधि पाउनुभएका कोइरालाकै अग्रसरतामा सशस्त्र हिंसामा रहेको माओवादी पार्टीलाई शान्ति र प्रजातन्त्रको मूलबाटोमा ल्याइएको थियो ।

आफ्नो राजनीतिक जीवनलाई नै दाउमा राखेर माओवादीलाई शान्ति प्रक्रियामा ल्याएको बताउने गिरिजाबाबुको अडानले नै संसद पुनस्र्थापना हुँदै मुलुकबाट राजतन्त्रको अन्त्य गरायो । १२ बुँदे शान्ति प्रक्रियामा हस्ताक्षर गरेर सशस्त्र द्धन्द्धमा होमिएको माओवादीलाई राजनीतिको मूलधारमा ल्याएका गिरिजाबाबुले सोचेअनुसार समयमै जनताको संविधान जारी गर्न भने भ्याएनन् ।उनले माओवादीलाई मुलधारमा ल्याए पनि ०६४ मा भएको चुनावमा आफै सभापति भएको नेपाली काँग्रेसलाई जिताउन भने सकेनन् ।

आफ्नो राजनीतिक जीवनलाई नै दाउमा राखेर माओवादीलाई शान्ति प्रक्रियामा ल्याएको बताउने कोइरालाको अडानले नै संसद पुनस्थापना हुँदै मुलुकबाट राजतन्त्रको अन्त्य गराएको थियो । स्वर्गीय गिरिजाको स्मृति दिवसमा नेपाली कांग्रेसले विभिन्न कार्यक्रम आयोजना गरेको छ । यसैबीच नेपाली कांग्रेसले गिरिजाको व्यक्तित्वबाट पाठ सिक्न नसकेको टिप्पणी हुन थालेको छ ।

नेपाली इतिहासमा सबैभन्दा बढी पटक प्रधानमन्त्री भएर कीर्तिमान रचेका गिरिजाप्रसाद कोइराला (गिरिजाबाबु)ले ०६२–६३ को आन्दोलनको नेतृत्व गरेका थिए । त्यही आन्दोलनले नै अहिले मुलुक गणतन्त्रमय भएको छ । गिरिजाबाबुले अडान नलिएका भए अहिले पनि राजसंस्था हावी भएको हुने थियो । गिरिजाबाबुले ‘बेबिकिङ’ को अवधारणा ल्याउन खोजे पनि राजसंस्थाबाट कुनै पनि संकेत र सन्देश नआएपछि झोंक्की कोइरालाले गणतन्त्रको लालमोहरका लागि नेताहरुलाई तयार गरेका थिए ।

गिरिजाबाबु कार्यकर्ता एकजुट गर्न सक्षम नेता । सम्भवतः दाजु बीपी कोइरालापछि उनले नै काँग्रेसलाई सफलतापूर्वक डोहोर्याए । तर शत्रूविहीन कोही हुन नसक्ने प्रमाण बोकेर उनी पनि हिँडिरे । त्यसैले त नेपाली राजनीतिमा सबैभन्दा बढी ताली, गाली खाँदै अन्त्यमा महानायकको उपाधि पाए गिरिजाबाबुले ।उनलाई एसियाकै स्टारका रुपमा लिइयो । यो सम्मान २१ औं शताब्दीमा कुनै पनि नेपाली नेताले पाएका छैनन् ।

सरकारबाट काँग्रेस टाढिन पुग्दा संविधान समयमा लेखिएन । शान्ति र संविधान निर्माण प्रक्रियाका सूत्रधार गिरिजाबाबुको २०६६ साल चैत ७ गते निधन भयो । ०७२ सालमा मात्र नयाँ संविधान लेखियो । गिरिजाबाबुको निधनपछि अब देशको जिम्मा ममाथि आयो भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भन्दै आएका छन् ।

गणतन्त्रका धरोहर गिरिजाबाबु ०६२–६३ पछि काँग्रेसका मात्र नेता रहेनन् । उनको उचाइले सबै दलका एक्ला नेताको रुप लियो ।उत्तराद्र्धमा उनी महान् नेता बने । कुनै पनि प्रतिपक्षी दलको नेता उनको अगाडि गएर उभिने हैसियत राखेनन् ।बहुदल आएपछि ‘माले र मसाले एकै हुन्’ भन्दै विवादमा आएका गिरिजाबाबुले आखिर तिनै कम्युनिष्टहरुसंग मिलेरै राजतन्त्रको जरो फाले ।राजावादीहरु गिरिजाबाबुलाई दुस्मनकै रुपमा हेर्छन् भने कम्युनिष्टहरु एकाएक आदर्श नेताको रुपमा मान्दै आएका छन् ।

गणतन्त्रको खम्बा जहाँजहाँ गाडिन्छ गिरिजाबाबु त्यहाँ त्यहाँ उपस्थित हुनेछन् । गणतन्त्रका लागि थुप्रै नेताहरु लडे, थुप्रै शहीद भए, तर गिरिजाबाबु त्यस्ता नेतृत्वकर्ता भए जसको योगदानले नै गणतन्त्र आयो । देशका लागि नेपाली जनताको चाहना अनुसार गणतन्त्र स्थापना गराउन सफल कोइरालाको कार्यशैलीलाई पार्टी नेतृत्वले स्वीकार गर्न नसकेको आरोप लाग्दै आएको छ ।कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीभित्रै आन्तरिक लोकतन्त्र हराएको भन्दै आन्तरिक लोकतन्त्र बलियो बनाउन माग गरेका छन् ।