काठमाडौं/२ चैत, आफु प्रधानमन्त्रीमा नियुक्त भएको एक महिना पुग्नै लाग्दा प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । ओलीले एमालेबाट ६ जना मन्त्री सहित २ जना राज्यमन्त्री  र माओवादी केन्द्रबाट ५ मन्त्री सहित २ राज्यमन्त्री थपेर २२ सदस्यीय मन्त्रीमण्डल बिस्तार गरेका छन् । यस अघि सरकारमा सात मन्त्री रहिसकेका छन् । थप गरिएका मन्त्रिहरुले शुक्रबार राष्ट्रपतिबाट शपथ लिएका छन् । शपथ लिनेमा एमालेबाट प्रदिप ज्ञवाली – परराष्ट्र, गोकर्ण विष्ट- श्रम तथा रोजगार, रविन्द्र अधिकारी-पर्यटन, जगत विश्वकर्मा – युवा तथा खेलकुद, रघुवीर महासेठ-भौतिक पूर्वाधार, शेरबहादुर तामाङ- कानुनमन्त्री, गोकुल बास्कोटा -सूचना तथा सञ्चार राज्यमन्त्री, पदमा अर्याल -स्वास्थ्यराज्यमन्त्री रहेका छन् । नवनियुक्त मन्त्रीले राष्ट्रपतिसँग पद तथा गोपनियताको सपथ लिए लगत्तै राज्यमन्त्रीलाई प्रधानमन्त्री ओलीले शपथ खुवाएका हुन ।

त्यस्तै माओवादी केन्द्रबाट शपथ लिनेमा गिरिराजमणि पोखरेल-शिक्षा, वर्षमान पुन -उर्जा तथा जलस्रोत, चक्रपाणि खनाल-कृषि तथा सहकारी, बिना मगर-खानेपानी, शक्ति बस्नेत-वन तथा वातावरण, धनबहादुर बुढा-संस्कृति राज्यमन्त्री, रामकुमारी चौधरी-कृषि राज्यमन्त्री रहेका छन् । शपथ कार्यममा प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, सभामुख कृष्णबहादुर महरालगायत उपस्थित थिए।

प्रधानमन्त्रीले यसअघि गत फागुन १४ गते दोस्रो पटक मन्त्रीपरिषद् विस्तार गरेका थिए । सो दिन रक्षा मन्त्रीमा ईश्वर पोखरेल, गृह मन्त्रीमा रामबहादुर थापा, उद्योग वाणिज्य तथा आपूर्तिमा मातृका यादव, अर्थमन्त्रीमा डा युवराज खतिवडालाई नियुक्त गरेका थिए ।