ललितपुर/२८ माघ,जागरणकवि धरणीधर कोइरालाको १२६ औं जन्मजयन्तीको अवसरमा धरणीधर स्मृति पुस्तकालय तथा देवीस्थान मावि दुम्जाको आयोजनामा दुम्जामा सुनकोशी कला साहित्य यात्राका साथ धरणीधर जयन्ती मनाइएको छ । सो अवसरमा कविता वाचन, नृत्य प्रस्तुत गरिएको थियो । जेभियर इन्टरनेशनल कलेज काठमाडौका विद्यार्थीले लघु नाटक प्रस्तुत गरेका थिए । धरणीधर स्मृति पुस्तकालयका अध्यक्ष दीपक श्रेष्ठ विहीनको अध्यक्षतामा भएको कार्यक्रममा सुनकोशी सम्पदा कला साहित्य यात्राको पनि थालनी गरिएको सुनकोशी कला साहित्य यात्राका संयोजक सुरेम देसारले आम सरोकारलाई वताए । कलायात्रामा सुरेम देशार, अनिल महर्जन, जयराम महर्जन, अनिल खड्का र राजेन्द्र देशार छन् ।

ललितपुरको गोदावरी नगरपालिका वडा नं. ११ बज्रबाराहीमा रहेको वादे कला पुच: को सहकर्यमा यही माघ २४ गतेबाट सुरु भएको सुनकोशी कलायात्रा आज माघ २८ गते सम्पन्न हुँदैछ ।  देवीस्थान माविका प्रधानाध्यापक तथा गजलकार नारायण नेपालीको सञ्चालनमा भएको कार्यक्रममा सुनकोशी गाउँपालिका १ का वडा अध्यक्ष विमलमान मोक्तान, तीर्थबहादुर रायमाझी, विनोद कोइराला, सुरेम देशार, दीपक विहीनले धरणीधरको योगदानबारे चर्चा गरेको थिए ।

सोही अवसरमा सम्पदा कला यात्रामा सहभागी कलाकारलाई कुशेश्वर महादेव संरक्षण समितिका अध्यक्ष गंगाप्रसाद कोइरालाले क्यानभास र रंग हस्तान्तरण गरेका थिए । सोही अवसरमा गत सालको कला यात्रामा तयार पारिएको चित्रकला प्रदर्शन गरिएको थियो । सो अवसरमा पुस्तकालयका अध्यक्ष दीपक श्रेष्ठले मिस नेवाः बाट प्राप्त कलर प्रिन्टर विद्यालयका प्रधानाध्यापक नारायण नेपाललाई प्रदान गरे ।