माधवप्रसाद घिमिरे
ललितपुर/२७ पाैष,
आज पौष २७ गते पृथ्वी जयन्तीको तिथि । नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको २९६ औं जन्मजयन्तीमा अाज विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । विक्रम संवत् १७७९ साल पाैष २७ गते गोर्खामा जन्मिएका शाहले आफ्नो शासनकालमा ५० वटाभन्दा बढी भुरे–टाकुरे राज्यलाई जोडेर नेपाल एकीकरण गरेका थिए । २० बर्षको उमेरमै राजगद्दी सम्हालेका शाहले जीवनपर्यन्त एकीकरण अभियान अगाडि बढाएका थिए । उनको यही योगदानको कदर गर्दै पाैष २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइने गरिएको थियाे । नेपाल गणतन्त्रमा प्रवेश गरेपछि पृथ्वी जयन्ती दिवसकाे महत्वलार्इ वेवास्था गरियाे । २०६२/२०६३ को आन्दोलनपछि बनेको सरकारले एकता दिवस खारेज गरेको थियो ।  विगतका वर्षहरूमा पृथ्वी जयन्तीकाे दिनको सरकारी विदा कटौती गरिएको थियाे । याे वर्ष भने सरकारले विदाका लागि २ पटक नै मन्त्रीपरिषदबाट निर्णय पारित गरेकाे थियाे । पृथ्वीनारायण शाहको जीवन र कर्मका विषयमा बहसहरू चलिरहेका छन् र त्यो बहस चलिरहनेछ ।

पृथ्वीनारायण शाहको जन्म वि.सं. १७७९ पौष २७ गते तात्कालिन गोर्खा राज्यको राजकुमारका रुपमा नभएको भए नेपाल एकिकरणको अभियान सम्भवतः अगाडि बढ्ने पनि थिएन होला । भलै यो अभियानलाई सम्पन्न गर्नमा अरु थप बीरबिरंङ्गगनाहरुले समेत अद्वितीय योगदान दिएकै हुन् । तर शुरुवात र सम्पन्न गर्ने सम्मको योजना र ढाँचा सहित संरक्षण गर्ने सम्मको भविष्यद्रष्टा समेत उनै स्वर्गिय महाराज पृथ्वीनारायण शाहा नै थिए ।

वि.सं. १७९९ देखि वि.सं. १८३१ सम्मको आफ्नो शासन अबधिमा पूर्वतिरको बिजय अभियानलाई अग्ररुप प्रदान गरिएता पनि पश्चिमको अभियान भने थाती नै थियो । सो अभियानलाई गति दिनका लागि वि.सं. १८३१ को हिउँदमा नुवाकोट पुगेका बेला तादी र त्रिशुली नदी दाेभान देवीघाटमा उनको देहावसन भएको थियो । देहावसन हुनु अगावै आफ्ना भाई भारदार समेटेर एकिकरण अभियानमा उठाउनु परेको कष्ट , सो अभियान सफल पार्न लिईएको निती र कष्टपुर्वक जोडिएको राज्यलाई जोगाउनका खातिर आफ्ना सन्तति , शासकहरुले लिनुपर्ने नीतिको बारेमा उल्लेखित् परराष्ट्रनीति , गृहनीति, बन्दब्यापारको नीतिमा आयात घटाउने निर्यात बढाउने कुरा , खेतीयोग्य जमिनको रक्षा गर्ने कुरा , लडाकु सैनिक , शस्त्रसंग्रह गरी देशको रक्षा र उन्नतिका बिषयमा उनले दिएको दिब्य उपदेश आजसम्म मात्र होईन नेपाल भन्ने देश रहेसम्म र हज्जारौं साल सम्मका लागी समेत उत्तिकै सान्दर्भिक रहनेछन् ।

पृथ्वीनारायण शाहको समयमा नेपाल बाईसेचौबीसे राज्यमा विभाजित थियो । आन्तरिक काटमारले धनजनको ठूलो क्षति भइरहेको थियो । युद्धकरले जनता आजित थिए । कुटिर उद्योग र व्यापारमा त्यसले बाधा दिइरहेको थियो । त्यसकारण ठूलो, बलियो र केन्द्रीकृत शासन आवश्यक थियो । त्यो नेपालको वस्तुगत आवश्यकता थियो । वस्तुगत रूपले पाल्पाली राज्य र काठमाडौँका मल्ल राजाहरूका लागि
त्यसको नेतृत्व गर्ने अवसर थियो । तर आत्मगत रूपमा उनीहरू त्यसका लागि तयार थिएनन् । सापेक्षित रूपले सानो र आर्थिक रूपले कमजोर गोरखाका राजा पृथ्वीनारायण शाहले त्यसको नेतृत्व गरे ।
अर्कोतिर समुद्रपारबाट बाइबल र औद्योगिक वस्तु बोकेर अङ्ग्रेज कलकत्ताबाट सारा भारतीय राज्यहरू निल्दै उत्तरतिर बढ्दै थियो । अङ्ग्रेजहरू ल्हासासम्म पुग्न चाहन्थे । उनीहरूले एकातिर धर्मका नाममा घुसपैठ गर्दै थिए भने आपसमा लडिरहेका एउटा राज्यका विरुद्ध अर्कोलाई सहयोग गर्दै प्रभाव विस्तार गर्दै थियो । भारत जसरी नै सबै नेपाललाई कब्जा गर्नु उसको रणनीति थियो । ऊसँग लड्नका
लागि केन्द्रीकृत र बलियो नेपाल अनिवार्य शर्त थियो । त्यो वस्तुगत आवश्यकतालाई पृथ्वीनारायण शाहले पूरा गरे । आन्तरिक
द्वन्द्व र बाहिरी दुस्मनका विरुद्ध लड्न वस्तुगत आवश्यकता थियो । यो वस्तुगत आवश्यकतालाई पृथ्वीनारायण शाहले बुझ्न सकेकै कारण उनी सफल भएका हुन् । यो एकीकरण प्रक्रिया पूरा नभएको भए आज नेपालको स्वतन्त्र अस्तित्व सम्भव थिएन । अङ्ग्रेजी साम्राज्यवादको
आक्रमणबाट नेपाललाई स्वाधीन राख्ने श्रेय पृथ्वीनारायण शाहलाई जान्छ ।
पृथ्वीनारायण शाहको एकीकरणबाट अङ्ग्रेज पादरी र अङ्ग्रेज बुद्धिजीवीहरू चिढिएका थिए । राष्ट्रघात गरेका कारण देशनिकाला गरिएका, कारबाहीमा परेका,भगौडाहरूलाई अङ्ग्रेजले आफू प्रशासित भारतमा शरण दिएर पृथ्वीनारायण शाह र नेपालका विषयमा लेख्न लगायो । उतैका विद्वान् र उनीहरूबाट दीक्षित बौद्धिक जमातले पढाएको शिक्षा र कृति पढेर हामी विभाजित छौँ ।
नेपाली जगमा उभिएर इतिहास लेखिने प्रक्रिया सुरु भएको छैन । पृथ्वीनारायण शाहको पालामा आजको जस्तो लाेकतान्त्रिक व्यवस्था कायम गर्न सम्भव थिएन । तर पृथ्वीनारायण शाह र काठमाडौँका भारदारका बीचमा ‘काठमाडौँका प्रजाले पृथ्वीनारायण शाहलाई राजा मान्ने, पृथ्वीनारायण शाहले नेवारी संस्कृति र सम्पत्तिको रक्षा गरिदिने’ सहमति भएझैँ आर्थिक र सांस्कृतिक अधिकार सुनिश्चित गर्न सम्भव थियो । कतिपय अवस्थामा त्यो सीमालाई मिचिएको ठानिन्छ ।
पृथ्वीनारायण शाहको भूमिकाबाट चिढिएको पक्षले विद्रूपीकरण गरेको पक्ष पनि जगजाहेर छ । हालको भारतका मराठी, खालिस्तानी,
लखनौका नवाबलगायत राज्य र शासकहरू प्राविधिक र आर्थिक रूपमा गोरखा राज्यभन्दा निकै शक्तिशाली थिए । उनीहरू एकपछि
अर्को गर्दै गोराहरूको कब्जामा परे ।
एकीकरणको प्रक्रियामा पृथ्वीनारायण शाहले भारतीय भूमिबाटै हतियार जम्मा गरेका थिए तर भारत गोराहरूको कब्जामा जाँदा पनि नेपाल बच्यो । त्यसका पछाडि रणकौशल र दृष्टिकोणसमेत कारक छ ।
अङ्ग्रेजले नेपाल कब्जा गरेको भए आज हामी जेजति स्वतन्त्र छौँ, हाम्रो आर्थिक– सांस्कृतिक पक्ष कायम छन्, त्यति पनि रहन सक्थ्यो कि सक्तैनथ्यो, बाईसे– चौबीसे राज्य र कबिला समाजलाई स्वतन्त्र ठान्ने हो भने जङ्गली अवस्थामा मान्छे त्योभन्दा बढी स्वतन्त्र थियो होला । विषयलाई जति पनि तन्काउन सकिन्छ ।  त्यसप्रकारका शासनप्रणालीको विशेषता उनको शासनकालमा पनि निरन्तर हुने नै भए । त्यसो भनेर भौगोलिक एकीकरणकै विरोध गर्नु इतिहासको वस्तुपरक मूल्याङ्कन हुन सक्तैन । काँगडाको किल्लामा मारिएका नरनारी, भक्ति थापा, अमरसिंह थापालगायत सपूतलाई विस्तारवादी देख्ने चस्माले यो देशको समृद्धि गर्न सक्तैन । जसले नेपालको एकीकरणमा रगत बगाए ।
पृथ्वीनारायण शाहकालीन नेपाली समाजमा कुन हदसम्म प्रगतिशील कदम चाल्न सम्भव थियो त ? यो कोणबाट पनि बहस हुनुपर्दछ ।
रणबहादुर शाहले बिधुवा विवाहलगायत सामाजिक सुधारका कदम चाल्नासाथ उनलाई भारदारहरूले पागल स्वामी महाराज आदि आरोप लगाएर एक्ल्याएका थिए ।
वस्तुको मूल्याङ्कन ‘भौतिक परिस्थिति र काल’ को आधारमा गरिनिुपर्दछ । अन्यथा हरेक पुस्ताले अग्रजलाई धारेहात लगाउँदै हिँड्ने प्रक्रिया चल्नेछ । न्यायशास्त्रमा कानुनवेत्ताहरूले कुनै घटना हुनासाथ घटनाका कारण कसलाई फाइदा भयो ?
भन्ने कोणबाट अनुसन्धान सुरु गर्छन् ।
नेपालको एकीकरणले नेपालीलाई फाइदा भयो कि विदेशीलाई ? यो सहज दृष्टिले मात्र पनि हामीलाई सत्यको नजिक पुर्याउँछ । पृथ्वीनारायण शाह र नेपाल एकीकरणलाई पृथक विश्लेषण गर्ने गरेको पनि देखिन्छ । यो तर्कमा धेरै बहस आवश्यक छैन । एकथरीले पृथ्वीनारायण शाहलाई दैवीकरण गरेका छन् अर्कोथरीले दैत्यकरण गर्न खोजेका छन् । एकीकरण प्रक्रियालाई आशयमा होइन, परिणाममा हेर्नुपर्छ । त्यसो गर्दा नेपालको एकीकरण एउटा महान् र ऐतिहासिक कदम हो । एकीकरणको विरोधले पृथकतावादलाई प्रश्रय दिन्छ । त्यसोभन्दा सामन्ती शासन बलियो र केन्द्रीकृत हुँदा जनवादमाथि थप हमला भएको, सामन्ती उत्पीडनको साङ्लो झन् कसिएको पक्ष भुल्नु हुँदैन । शाह
वंशका केही नेता (राजा) हरूको नेतृत्वमा एकीकरण भयो भन्दैमा तिनको वंश र फासिष्ट शासकलाई समेत स्वीकार्नु पर्दछ भन्ने छैन ।
यो बहस अदृश्य स्वार्थ प्रेरित बहस मात्र हो ।

पृथ्वीनारायण शाह एकजना दूरदर्शी शासक थिए । उनको एकीकरण अभियान वैदेशिक अथवा कूटनीतिक पक्षहरू सम्मान गर्न लायक छन् । पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेका थिए । र पनि उनको पहिचान त्यतिमै सीमित छैन । उनले हिन्दु संस्कृति पनि विस्तार गरेका थिए । हाँ–जहाँ विजय हासिल गरे, त्यहाँको संस्कृतिलाई पनि आत्मसात गर्दै राजनीतिक मात्र होइन, सांस्कृतिक अन्तरघुलनमा समेत योगदान दिए । यो पृथ्वीनारायणको मात्रै होइन, अंग्रेजको उपनिवेश सुरु हुनु अगाडि हिन्दु राजाहरुले आत्मसात गरेको सिद्धान्त थियो । उनीहरु जहाँ–जहाँ विजय हासिल गर्थे, आफ्नो संस्कृतिलाई स्थानीय संस्कृतिसँग अन्तरघुलन गराउँथे ।

यही शैली राजस्थान, गुजरात, महाराष्ट्र र दक्षिण भारतका हिन्दु राजाहरुको पनि थियो । हिमालय क्षेत्रमा भने पृथ्वीनारायण शाहले नै यसलाई अपनाए । हरेक देशका फरक सोच र चलन त्यहाँका राजाहरुको व्यवहारमा निर्भर रहन्थ्यो । त्यस्तै फरक सोच र शैली पृथ्वीनारायणमा पनि झल्किन्छ । काठमाडौं उपत्यका मल्ल राजाहरुको राज्य थियो । उनीहरुले तुलजा भवानीलाई इष्टदेवी मान्थे । स्थानीय भाषामा तलेजु भवानी नाम दिइयो, उनलाई । १३ असोज १८२५ मा काठमाडौंमाथि विजय हासिल गरे, पृथ्वीनारायण शाहले । तर, यहाँका देवी देवतालाई पराया ठानेनन् । नत्र, उनले मनकामना मातालाई नै इष्टदेवी मान्ने थिए । र, सोहीअनुसार सांस्कृतिक मूल्य, मान्यता अगाडि बढाउँथे ।

दशैं गोरखा राज्यबाटै फैलिएको कारणले मात्रै नेपालको रिवाज बन्न पुगेको हो भन्न मिल्दैन । सहयोग भने गरेको हो, गोरखाले । शाहवंशकै कारण मात्र दशैंको महत्व बढेको होइन । किनभने यो शक्तिको उपासना हो । र, शक्ति र देवीको उपासना गोरखामा मात्र होइन, अन्य बाइसे र चौबीसे राज्यहरुमा पनि व्यापक थियो । त्यहीं गोरखाली संस्कृति पनि घुलमिल भयो । उपत्यकामा देवीको उपासनाको स्थान उच्च थियो भन्ने उदाहरण खोज्न टाढा जानु पर्दैन । काठमाडौंमा तलेजु भवानी, ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरछेउमा बंगलामुखी मन्दिर । भक्तपुर पनि देवीको उपासनाबाट बाहिर थिएन ।

(स्राेतः विभिन्न अनलाइन पाेर्टलहरू र सामाजिक सञ्जाल)