दिपेन्द्र परिवर्तित

२०५७ साल । महिनाचाहिँ ठ्याक्कै याद भएन, त्यो दिन छिमेकमा बस्न गएको थिएँ । रातको ११ बजे तिर केही हुल मान्छे आँगनमा आएर ढोका खोल्न आग्रह गरे । छिमेकीले ढोका खोले । हामी चोटामा थियौँ । उनिहरु नि फटाफट चोटामा नै आए । भर्याङ उक्लिने बितिक्कै पहिलै हाम्रो कोठा आउने भएकाले पनि होला उनीहरु हाम्रो कोठामा पसे । लालसलाम भन्दै मुठ्ठी बटारेर हामीलाई पनि सलाम ठोके । अनौठो लाग्यो । कहिल्यै नचिनेका नदेखेको मान्छे अचानक आए । कसैले नसिकाएको चलन सिकाए । बाल मस्तिष्कमा अनेक कुरा खेल्न थाले ।  के गर्दै हुनुहुन्छ ? कति कक्षामा पढ्नु हुन्छ ?  भन्दै प्रश्न गरे । अनि केही प्याकेट बिस्कुट हाम्रो हातमा थमाएर लागे अर्को कोठा तिर ।
त्यो रात तिनीहरु को हुन् थाहै भएन तर उनीहरु पसेको कोठामा केही समयमै गाउँका अन्य व्यक्ति पनि आए । अहिले पो थाहा भयो त्यो रात माओवादीले गाउँका बारेमा जानकारी लिन गाउँका अग्रज भन्नेहरुलाई भेला गराएको रहेछ । रातभरि केके गनगन गरे थाहा भएन । थाहा होस् पनि कसरी सात आठ वर्षको बालकलाई । भोलिपल्ट बिहानै आँखा मिच्दै लागियो घरतिर । अनि खाना खाएर लागियो स्कुल जाने उकालो चढ्न ।  त्यो उकालो अहिलेसम्म नि याद छ । याद नहोस् पनि कसरी सगरमाथा चढेझैँ लाग्थ्यो अझै पनि लाग्छ उस्तै । उकालो सकिने बित्तिकै पुलिस चौकी त्यही चौकि कै नजिक भएर जानुपर्ने स्कुल । पुलिस अहिले सम्झँदा पनि मुटु झसङ्ग हुन्छ । पालेको कुकुर फुकाएर छोड्नेदेखि समातेर थुन्नेसम्मका धम्की दिन्थे हामी बच्चाहरुलाइ । अझै त्यो जुगेँ हवल्दार भोभो अब त्योभन्दा  ज्यादा कुरा नगरम् अहिले समय उल्टो भैसकेको छ पुलिस बदलिए या भनौ चिन्तन नयाँ भैसक्यो ।
केही दिनदेखि सुनसान थियो चौकी जुँगे हवल्दार पनि हाम्रो बाटोमा आउन छाडेको थियो न कहिल्यै त्यो तालिम प्राप्त कुकुर नै आयो । माओवादी गाउँमा आउनुभन्दा केही दिन पहिले रातभर पुलिसको दगुरादगुर थियो माओवादी आए भन्दै गोली बारुद बर्साउँदै कराएको त आफैंले सुनेथेँ । रातभरमा हामीले उकालो चढ्ने भिरको काँडाघारि माडेर पुरै बाटो बनाएछन् । खै कसले हो अझै रहस्यमय छ त्यो घटना । त्यही घटनाको एक दिनपछि गाउँमा हेलिकप्टर बस्यो । हेलिकप्टर हेर्ने गाउँलेको भिड लागेको थियो । सायद गाउँमा पहिलोपटक बसेकाले पनि होला गाउँले अचम्म मान्दै हेर्दै थिए ।
रातभरिको बैठकले केके निर्णय गरे थाहा भएन । भोलिपल्ट दिउँसो २ बजेतिर आए स्कुलमा अनि थाले उनिहरुको जनकार्वाही । हाम्रो आँखा अगाडि हाम्रै स्कुलमा हाम्रै शिक्षक माथि हातपात गर्दा पनि हामीले चुपचाप हे¥र्याैँ । हामीमध्ये कसैले सकेनन्  रोक्न तिनीहरुलाइ । कोही अलिकति मात्रै अगाडि बढे बमले उडाउने धम्की थियोे । हामी मुर्तिसमान उभिएका थियौँ । तर हाम्रो मनमा सुनामि चलेको थियो । अवैध सम्बन्धको आरोप लगाउँदै मधेसी मुलका एकजना टिचरमाथि हातपात गरेर कालोमोसो दले अनि बर्खास्त गरे जागिरबाट ।

गाउँमा माओवादी जनकारबाही यो नै पहिलो थियोे सायद । निरीह जनताको अगाडि तानाशाही कदम उठाउनु पनि कहिँ जनकारबाही हुन्छ ? अचेल मनले मनसित सोधिरहने प्रश्न हो यो ! तथापि त्यो समयमा जनताको मन जित्ने धेरै काम माओवादीले नगरेका भने हैनन्  । यही कार्वाही पछि हो गाउँमा माओवादी प्रवेशको लहर चलेको । कोही राम्रो लाउने रहरले छिरे । कोही मिठो खाने चाहनाले त कोही सामन्ती साम्राज्य खत्तम गरेर सर्वहाराको राज्य स्थापना गर्ने महान लक्ष्य लिएर । जो जे लक्ष्य लिएर छिरे पनि ती माओवादी थिए उतिबेला । एकले अर्कोलाई आदर गरेर बोलाउँथे कमरेड ! भन्थे अचम्म लाग्थ्यो मलाई उतिबेला । मेरै साथीहरू समयक्रमसँगै माओवादी भए ।  जनताको राज्य स्थापना गर्ने भन्दै बन्दुक बोके । बेलाबेलामा हामीलाई पनि लान्थे सम्मेलन गर्थे अनि फिर्ता पठाउँथे यसरी जाँदा पनि कतिपय साथीहरू पार्टी प्रवेश गर्थे ।
कमरेड चट्टान उ बेलाको विद्यार्थी नेता हामीलाइ प्रशिक्षण दिन्थे । उनको बोल्ने शैली । रहनसहन अझै पनि लोभ लाग्छ मलाई उनलाई सम्झँदा । चटक्कै मिलेको ज्यान, प्रष्ट वक्ता, मिजासिलो मान्छे । देश विकास नहुनुको मुख्य कारण राजसंस्था भन्थे । राजा फाले रातारात देश सिंगापुर बन्ने कल्पना साट्थे । समयक्रमसँगै त्यो जनयुद्ध पनि शान्तिपूर्ण राजनीति धारमा रुपान्तरण भयो । उबेला हतियार बोकेकाहरु केही अहिले गाउँमा हलो बोक्छन् त धेरैचाहिँ अचेल खाडीमा पसिना बगाउँछन् । व्यवहारिक शिक्षा लागू गर्ने भन्दै किताब फालेर बन्दुक बोकेका कतिपय अहिले पछुतो मान्दै होलान् अरबमा । जजसले  त्यो समयलाई आफू अनुकुल प्रयोग गरे ती अहिले पनि नेपालमै राम्रै जिन्दगी जिउँदै होलान् ।

‘असल आमाको छोराछोरि वर्ग संघर्षको मैदानमा जन्मन्छन्,’ भन्दै भित्तेलेखन गर्ने कमरेड चट्टानलाई केही दिन पहिले मलेसियामा देखेँ  लाग्यो कमरेडको मुद्दा बदलियो । रत बन्दुक बोक्ने हातमा पासपोर्ट बोकेर आए यतै । सायद जिन्दगीको लक्ष्य गन्तव्य आफुले चाहेजस्तो या शोचेको हुने भए बुर्जुवा शिक्षा छोडेर हिँडेका कमरेड चट्टान खाडीमा पसिना बगाउन बाध्य हुन्थेनन् होला । हिजोका कमरेडहरु अहिले खाडीमा पसिना बगाउँछन् परिवार पाल्नका लागि । उनिहरुले शोचे झैँ रुपान्तरण नभएको प्रति कुनै असन्तुष्टि छ या छैन थाहा भएन । तर तिनकै हिजोका मालिक अहिले देशको प्रमुख पदमा आशिन छन् तर कमरेड चट्टानले देश छाडेका छन् । चट्टान त केवल प्रतिनिधि पात्र मात्रै हुन् हिजो जनयुद्धमा होमिएका हजारौँ युवाको अन्तिम गन्तव्य उही पासपोर्ट बोकेर मेनपावर धाउने अनि जाहजको ढोका समाउँदै खाडी भासिने नै हो ।

हिजो भट्टि बन्द गर्दै घ्याम्पो फुटाउनेहरु हिजो भगवान हुँदैन भन्दै भगवान नमान्नेहरु एकाएक रुपान्तरण भएको देख्दा लाग्छ यो नै कमरेडको रुपान्तरण हो । गोल्डस्टार देखि फाइभ स्टार सम्मको यात्रामा कतिले कहाँसम्म सहकार्य गरे कमरेडलाई पत्तो छैन होला । अहिले वरिपरि जो देख्छन् कमरेडलाई उसकै समीप जाउँजाउँ उसकै बनौँबनौँ लाग्न थालेको सुनेको छु । सामन्तवाद, विस्तारवाद र साम्राज्यवाद विरुद्धको युद्ध कहाँ पुग्यो ? अनि हिजो खनिएको सुरुङ्गको अवशेष कता छ ? कमरेडलाई अचेल कसैले सोध्दैन । किनकि अहिले कमरेडको रुपान्तरण भैसकेको छ । भट्टीहरु कमरेडको बंकर भएको छ गिलासमा । कमरेडले तरल बारुद भर्छन् र मस्त मदिरामा कमरेडको बिस्फोट हुन्छ ।  कमरेड हिजो विकृति रोक्ने उपनाम थियो अहिले त्यो कमरेड नाम खासै जप्दैनन् । साथीहरू अचेल रुपान्तरण भएको छ कमरेडको । हिजो अभिवादन गर्ने हातहरु अचेल मुक्का बजार्न अगाडि बढ्छ । हिजो गोल्डस्टारमा पस्ने खुट्टा अचेल चिल्ला लेदरका जुत्तामा सजिन्छ । सर्वहाराको भजन गाएर परिवर्तनको आरती गरेर अनि हजारौँ जनताको बलि चढाएर एकाएक भएको कमरेडको रुपान्तरण माक्र्स, लेलिन, माओ, स्टालिन र एङ्गेल्स खै कसको  मार्गदर्शन हो ? अहिले हजारौँ कमरेडहरु खोज्दै होलान् उही कमरेड हिँडेको बाटो अनि यो बाटो पछ्याउने नयाँ सिद्धान्त । कमरेडको रुपान्तरण बुर्जुवा शिक्षाको उपज हो या व्यवहारिक शिक्षाको नवीन प्रयोग अझै अनभिज्ञ छु म । तथापि  कमरेडको रुपान्तरण भएको भने पक्का हो यसमा दुईमत छैन ।